सुचना, समाचार र मनोरन्जन

‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म पोखरामा

पोखरा/
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुँदैछ। फेस्टिभलको बाह्रौं संस्करणलाई  आयोजना बुकवर्म फाउन्डेसनले गरेको हो ।

साहित्यको यस ‘कुम्भमेला’ मा यहाँहरूको सहयोग यसअघिका संस्करणहरूमा जस्तै रहने आयोजकले अपेक्षा लिएको छ ।
अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ । जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।

एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले सम्बर्द्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सह-प्रबन्धक  छ । त्यस्तै उप–प्रबन्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैंक सहयोगी संस्थाका रुपमा रहेका छन ।

यस वर्षको फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ। लामा इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएाओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।

उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।

नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्।

फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने हामीले अपेक्षा गरेका छौँ ।

सिर्जनाको अर्को विद्या चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् । उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने हाम्रो विश्वास छ ।

सधैं जस्तै यसपटक पनि हामी शब्दसँगै सङ्गीतको तालमा झुम्नेछौं । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ । सो अवसरमा किरण नेपालीको नेतृत्वमा प्रोजेक्ट सारङ्गीअन्तर्गत सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीत जगत्का पप–सम्राट्का रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिनेछ ।

फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ।

साहित्य, शिक्षा अनि पठन संस्कृतिका लागि उमेरहद हुँदैन । त्यसैले त नेपाल लिटरेचर फेस्टिभल बालबालिका तथा किशोर–किशोरीका विचार, रचना, कला र भावना अभिव्यक्तिको सशक्त माध्यम बन्दै आएको छ । यस संस्करणमा उमेरले भरखरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं । यही नै त हो, हामीले हरेक वर्ष साना नानीबाबुहरूलाई केन्द्रमा राखेर सञ्चालन गर्दै आएका सत्रहरूको ध्येय । बिज्ञप्तीमा भनिएको छ ।  फेस्टिभलमा विद्यार्थीहरूसँग पुस्तक, कथा, कविता अनि समग्रमा पठन संस्कृतिका कुरा हुनेछ्न भने शिक्षक र अभिभावकसँग विद्यालय अनि घरमा शैक्षिक वातावरणबारे विमर्श गरिने आयोजकले जनाएको छ । फेस्टिभलले उपलब्ध गराएको यस मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने बुकवर्मको अपेक्षा छ।
सुरुवातका वर्षदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको साथसहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी बताउछन । ‘बाह्रौँ संस्करणसम्म आइपुग्दा हामीले नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेका छौँ’, उनले भने, विद्यालय तहबाटै साहित्यलाई पाठ्यक्रमको अंश बनाउनेदेखि नयाँ पठन संस्कृति विकासमा शिक्षक, अभिभावक तथा अन्य निकायहरूको भूमिकाबारे झकझकाउने हाम्रो प्रयास निरन्तर रहन्छ।’
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन्।
‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल २०२५’ मा शब्दहरू जीवन्त हुनेछन् । तपाईं र हामी कला, साहित्यको प्रवद्र्धनसँगै विचार निर्माण र आलोचनात्मक चेतको विकासमा सहकार्य गर्नेछौं ।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सात ओटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।’
यस्ता फेस्टिभलले हाम्रो ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ । ‘पब्लिक स्पेस’ फराकिलो तथा जीवन्त बन्दै गएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ,’ उनले भने ।


एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइसेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यको माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेकि छिन ।

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.