काठमाडौं/
सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री, महाशाखा प्रमुख र संघका पदाधिकारीबीच भएको छलफलले स्वास्थ्यकर्मीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको हो ।
बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने दिएका थिए ।
सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको थियो ।
संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
शुक्रबारको छलफलबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको ३ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भे पूरा गरी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने निर्णय भएको छ ।