काठमाडौं :
नीता ढुङ्गानाको मुख्य भुमिकामा अभिनय रहेको फिल्म ‘रियाल रिङ्गेट’मा समावेश गीत ‘जिन्दगी : उडी जाने हो कहाँ’म प्रवासी नेपालीको कथा बुनिएको छ। मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा नेपालीको मार्मिक कथा समेटिएको देखिन्छ।
रेबेल फिल्मसद्वारा निर्मित यस फिल्मको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथालाई गीतको भिडियोमा झल्काउँछ। रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन्। गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेशिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रममा कवि नाथन रायनले आफ्नो कविता वाचन गरे, जहाँ मामुली मजदुरका रूपमा विदेशिन बाध्य नेपालीहरूको मार्मिक भावना पोखिएको छ। कवि रायनका शब्दहरूले ूजब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्योू भन्ने ट्यागलाइनमार्फत फिल्मको समग्र मर्मलाई सशक्त रूपमा चित्रण गर्दछ। गायक केतन क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।
फिल्मका निर्देशक विभोर पोखरेलले ुरियाल रिङ्गेटु हरेक नेपालीको कथा भएको जिकिर गर्दै यो फिल्मले आम दर्शकको मन छुन सफल हुने विश्वास व्यक्त गरे । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए। दुई दशकभन्दा बढी समयदेखि रेबेल क्रियशन सञ्चालन गर्दै आएका प्रधानले यसअघि २०३९ सालमा भिडियो फिल्म ‘अभिलाषा’निर्माण गरेका थिए । साथै, रेबेल क्रियशनमार्फत् प्रधानले दर्जनौँ गायक गायिका,निर्देशक तथा कलाकारहरूलाई स्थापित गरेका छन्।
अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि फिल्म रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् भने अभिनेता प्रमोद चौलागाईंले निकै सोच विचार गरेर मात्र यस फिल्ममा अभिनय गरेको जनाए। विभोर पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा नीताका साथमा प्रमोद चौलागाईं,छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजले लेखेको यो फिल्मको नाम ‘रियाल रिङ्गेट’कतार र साउदी अरेबियाको मुद्रा ुरियालु तथा मलेसियाको मुद्रा ुरिङ्गेटु को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ। गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ। कार्यक्रमका बीचमा फिल्म युनिटले एक दुःखद खबर सार्वजनिक गरेको थियो। यस फिल्मकी कलाकार अनिशा सदा स्थानीय फिल्मको छायाङ्कन स्थलमा मृत भेटिएको जानकारी गराउँदै सदाप्रति कार्यक्रममा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।