सुचना, समाचार र मनोरन्जन
IVF New Banner

तालचोक–बेगनास सडक अब चार लेनमा निमार्ण हुँदै

कास्की/

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गएको चैतदेखि सडक निर्माण थालिएकोमा झन्डै १० प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । ‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण शुरु भएको हो’, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भन्नुभयो, ‘सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।’ विश्व बैंकको सहयोगमा यो सडकको स्तरोन्नति योजना अगाडि बढेको उनले बताए । तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले बताए ।

‘एक अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो’, उहाँले भन्नुभयो, ‘फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्दैछ ।’

Exchange and test

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताउनुभयो । दशैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

यो सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक–बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाए । ‘बिस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ’, उहाँले भन्नुभयो, ‘समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ ।’

निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए । ‘परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झकझकाइ रहनुभएको छ’, उनले भने । वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताउनुभयो । तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।

कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकोमा स्तरोन्नतिको काम बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताउनुभयो । निर्माणको चरणमा भएकाले पर्यटकका लागि यो सडकको यात्रा कष्टपूर्ण बनेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.