सुचना, समाचार र मनोरन्जन

त्रिदेशीय टी-२० आई सिरिज: नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

काठमाडौँ /

त्रिदेशीय टी-२० आई सिरिजमा अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित हासिल गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए । त्यस्तै आर्यन दत्तबाट बोल्ड हुनुअघि गुल्सन झाले ३८ रन जोडे । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसअघि ओपनर कुशल भूर्तेल र आशिफ शेख तेस्रो ओभरमा आउट भएका थिए। ८ बल खेलेका कुशलले १ चौका र १ छक्का प्रहार गरी १२ रन बनाउँदा ८ बल खेलेका आशिफले १ चौका प्रहार गरी ८ रन जोडेका थिए। नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।

शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।

यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे । जितसँगै नेपालले सिरिजको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

अंक तालिकामा नेपाल र नेदरल्याण्ड्सको समान ४/४ अंक भएको छ। भोलिको खेलमा नामिबियालाई नेदरल्याण्ड्सले हराउन सके नेपाल फाइनलमा पुग्नेछ।  भोलिको खेलमा नेदरल्याण्ड्स पराजित भएमा रन रेटका आधारमा फाइनल खेल्ने टिमको टुंगो लाग्नेछ।

Leave A Reply

Your email address will not be published.