सुचना, समाचार र मनोरन्जन

जे सुकै परिवर्तन भए पनि ‘मिसन-२०८४’ छाड्दैनौं: ओली

काठमाडौं /

नेपाल कम्युनिष्ट पार्टी {एमाले}का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन्।

नेपाल ट्रेड युनियन महासंघ {जिफन्ट}को ७७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन-२०८४’ छाड्दैनौं। अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ।’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए। उनले जिफन्टका नेता-कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए।

मजदुरहरुले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न आग्रह गर्दै उनले युवाहरुलाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे।

Leave A Reply

Your email address will not be published.