सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा दिपक मनाङ्गे निर्णायक, फेरि मन्त्री बन्न सक्ने

काठमाडौं /

सत्तारुढ गठबन्धनमा फुटसँगै नयाँ गठबन्धन बन्ने भएपछि यो राजनीतिक घटनाक्रमले गण्डकी प्रदेशका सांसद राजिव गुरुङ अर्थात दिपक मनाङ्गेको महत्व एकाएक बढाइदिएको छ ।

नयाँ राजनीतिक समीकरण बनेपछि अब केन्द्रसँगै प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने सहमति गरिएको छ । र, यो सहमतिले मनाङ्गेलाई फेरि एकपटक मूल्यवान सांसद बनाइदिएको छ ।

एमाले, माओवादी, रास्वपा र जसपा मिलेर नयाँ गठबन्धन बनाउने निर्णय भइसकेको छ । र, उनीहरुले यसमा नेकपा एकीकृत समाजवादीलाई पनि जोड्ने भएका छन् । मनाङ्गे गण्डकी प्रदेशमा एकीकृत समाजवादीका एक्ला सांसद हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेसँग २२ र माओवादीसँग ८ गरी ३० सदस्य छन् । यहाँ उनीहरुलाई बहुमतका लागि केवल १ जना सांसदको समर्थन चाहिन्छ ।

गण्डकीमा कांग्रेसका २७ सांसद छन् । बाँकी २ जना सांसद राप्रपाका हुन् । राप्रपाले भर्खरै आन्दोलनका कार्यक्रम घोषणा गरिएको हुँदा सत्तामा नजाने भनेको छ । राप्रपा प्रवक्त मोहन श्रेष्ठले सोमबार नै सत्तामा जाने योजना नभएको बताइसकेको हुँदा यहाँ कांग्रेस र राप्रपा पतिपक्षमा रहने पक्का छ ।

यस्तो अवस्थामा माओवादी र एमालेका लागि सरकार गठनको बाटो खोलिदिने एकमात्र सांसद दिपक मनाङ्गे हुनेछन् । उनी एक्लैको निर्णयले सरकार बन्ने र ढल्ने अवस्था भएपछि उनले सरकारलाई समर्थन गरेको बदलामा मन्त्री माग्न सक्छन् र गठबन्धन पनि उनको माग पूरा गर्न बाध्य हुने देखिन्छ ।

मनाङ्गे यस पटक पहिलोचोटी मन्त्री बन्न लागेका होइनन् । उनी यसअघि पनि गण्डकी प्रदेशमा खेलकूदमन्त्री थिए ।

Leave A Reply

Your email address will not be published.