सुचना, समाचार र मनोरन्जन

गोरखाको दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा/

गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । २ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा यो आयोजना निर्माण हुन लागेको हो ।

मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा ९ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिए । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए ।

सिमलगैरामा विद्युतगृह रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो, उनले भने, दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।

गोरखा–१२, १३ र १४, शहीद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडक खण्डको पहुँच क्षेत्रमा रहनेछु, आयोजनाका इञ्जिनियर अनिल नेपालले भन्नुभयो, अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिए ।

विभागबाट अनुमति पाएपछि आउँदो माघ पहिलो हप्तादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

Leave A Reply

Your email address will not be published.