काठमाडौं /
आइसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा ओमनसँग नेपाल ५ रनले पराजित भएको छ । ओमनले दिएको १४६ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन मात्र बनाउन सक्यो ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी-२० विश्वकपको टिकट काट्नेछन्।
ओमनका लागि कप्तान जीसन मकसूदले सर्वाधिक ३२ रन बनाए । नसीम खुसीले २५, प्रतीक अथावलेले २४, शकील अहमदले २२, आयन खानले १८ रन बनाए । नेपालको लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । अविनाश बोहरा र गुलशन झाले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालले १४० रन मात्र बनाउन सक्यो । नेपालका लागि विवेक यादवले ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दिप जोराले समान १२, कुशल मल्लले १० रन बनाए ।
ओमनका लागि बिलाल खानले ३ विकेट लिए । शकील अहमद, मेहरन खान र अकिब इल्यासले समान २–२ विकेट लिए । जीसन मकसूदले १ विकेट लिए ।
समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगेका थिए। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।