सुचना, समाचार र मनोरन्जन

शिक्षाको विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

६ जना शिक्षासेवी सम्मानित, २ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पोखरा /

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा. जोर्ज जोन र डा. एलियाम्मा जोनको खुलेर प्रशंसा गरे ।

जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि आभार व्यक्त गरे ।

प्रतिष्ठानले असल गुरु जोन सरको व्यक्तित्व र व्यवहारकै प्रतिनिधि बनेर सामाजिक चेतनासहित शिक्षा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदानलाई निरन्तरता दिन सकोस् भन्ने कामना पनि गरे । ‘भारतको केरलामा जन्मिएर सारा जीवन नेपालका लागि अर्पण गरे । पोखरा जस्तो मुलुककै दोस्रो ठूलो शहरको असल गुरु उपमाका साथ यसरी सम्मानित हुन सक्नु सानो योगदानले सम्भव हुँदैन । जोन दम्पतीकै निरन्तरको कर्म र त्यागले यो सम्भव भएको हो । यसको लागि म यहाँलाई सलाम व्यक्त गर्दछु।’ – प्रदेश प्रमुख भट्टले भने ।

Chaka Panja

डा. जोर्ज जोनले प्रतिष्ठानको काम र गतिविधिले आफू सधैं खुशी रहेको बताए । ‘यस कार्यक्रममा आउँदा मलाई सधैं अर्को वर्ष आउन पाउँछु कि पाउँदिन होला भन्ने लाग्छ । तर, आइरहेकै छु । सबै यहाँहरुकै माया र साथ हो ।’ उनले प्रशन्नता व्यक्त गरे ।

उक्त अवसरमा प्रतिष्ठानको तर्फबाट प्रदेश प्रमुख भट्ट र डा. जोर्ज जोनले शिक्षासेवी सम्मान तथा छात्रवृत्ति वितरण पनि गरे । प्राध्यापक पवित्रमणि पौडेल पोखरा–२१, प्रा.डा. भूपति ढकाल ‘कमल’ पोखरा–१७, प्रा.डा. यदुनन्दन ढकाल पोखरा–१२, विन्ध्यवासिनी माविको कुशल नेतृत्वकर्ता नरनाथ भट्टराई पोखरा–१६, लोकबहादुर कार्की पोखरा–१३, जीवनभर कर्तव्यपरायण भई योगदान दिने हिन्दुमाया पुन पोखरा–१ लाई शिक्षासेवी सम्मान अर्पण गरिएको थियो ।

यस्तै, गत शैक्षिक सत्रमा पृथ्वीनारायण क्याम्पसबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुने पारस पौडेल, छात्रातर्फ सफलता सापकोटा र अञ्जु गिरीलाई पुरस्कृत पनि गरिएको थियो । प्रतिभा छनौट समितिको संयोजक रामगोपाल ढेवाजु र प्रतिष्ठानका सदस्य डा. नागेन्द्र भण्डारीले सम्मानित एवं पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पारे ।

कार्यक्रममा गत असार २७ गते पोखरा १९, तल्लाकोटमा गएको पहिरोले एकै परिवारका ७ जनाको ज्यान गएकोमा बाँच्न सफल विन्ध्यश्वरी मावि कक्षा १० मा अध्ययनरत पवन परियारलाई नगद सहयोग पनि प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गभर्नर तथा सल्लाहकार डा. दिपेन्द्रबहादुर क्षेत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सल्लाहकार प्रा.डा. दिलबहादुर क्षेत्री, सल्लाहकार राजीव पहारी, संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु, पृना क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइराला, क्याम्पसका प्राध्यापक संघका सभापति डा. लक्ष्मीशरण अधिकारी, सम्मानित व्यक्तित्वद्वय प्रा.डा. भूपति ढकाल, प्रा. पवित्रमणि पौडेल लगायतले बोलेका थिए ।

प्रतिष्ठानका सचिव अरुण शेरचनले स्वागत यस्तै कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन अधिकारीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.