पोखरा/
गण्डकी प्रदेशका कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । संसदीय दल पदाधिकारी बैठकले १५ दिनको तलब दिने निर्णय गरेको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिए । भूकम्पका कारण परेको क्षतिप्रति हाम्रो गहिरो दुख छ । यस घडीमा पुनः स्थापनाका लागि हाम्रो पनि भूमिका रहनुपर्छ, उनले भने, पहिलो चरणमा १५ दिनको तलब दिने निर्णय गरेका छौँ ।
यो निर्णयले ७ लाख हाराहारी सहयोग पुग्छ । यहाँ कांग्रेसका २७ सांसद छन् । तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन् । पदाधिकारीको तलब फरक छ भने सांसदहरूको तलब ५४ हजार २ सय छ । सांसद डिल्लीराम सुवेदीले भने १ महिनाकै तलब दिने घोषणा गरिसकेका छन् । एमालेले भने ७ दिनको तलब दिने घोषणा गरेको थियो ।