पोखरा /
१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सामाजिक सेवाको क्षेत्रमा स्थापित संस्था मध्येको एक नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ ले साथ दिने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिष्ट्रिक्ट ३२९२ ले नगद रु ५० हजार सहयोग गर्ने भएको हो । रोटरी क्लब अफ फिस्टेल पोखराको भिजिटका क्रममा संस्थाका गर्भनर राजेन्द्र प्रसाद धोजुले नगद रु ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।
रोटरी क्लब अफ फिस्टेल पोखराका पूर्व अध्यक्ष रोटरियन तेज बहादुर गुरुङका अनुसार रोटरी डिष्ट्रिक्ट ३२९२ का गर्भनर धोजुले नेपालकै चर्चित म्याराथन पोखरा म्याराथन संग जोडिन पाउँदा खुसी लागेको बताउँदै त्यसका लागि आभार समेत व्यक्त गरेको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गर्भरन धोजुले पोखरा म्याराथनमा सहभागिताका लागि विश्वभरी छरिएर रहेका रोटरी क्लब र रोटरियनहरुलाई औपचारिक पत्र पठाउने प्रतिवद्धता जनाएका छन् ।
सो अवसरमा नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ नोमिनी बिनोद कोइराला, एसिष्टेन्ट गर्भनर पुरन कुंवर, डिष्ट्रिक्ट सेक्रेटरी दिनेशराज मानन्धर लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष भूपेन्द्र गौचनको अध्यक्षतामा भएको थियो ।
नेपालमा रोटरी क्लवहरुको संख्या १६० वटा रहेका छन् जस मध्ये पोखरामा १० वटा क्लबहरु रहेको जनाइएको छ । ति क्लबहरु सोझै नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका छन् । पोखरामा रहेका १ हजार ५ सय रोटरियन, इन्ट्रेक्टर र रोट्रक्याटरहरुलाई पोखरा म्याराथनमा सहभागिताका लागि आह्वान समेत गरिएको छ ।
पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते हुनेछ ।