काठमाडौं /
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना {६२ दशमलव आठ प्रतिशत} सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना {शुन्य दशमलव ३ प्रतिशत} छन्।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना {एक दशमलव छ}, बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना {१२ दशमलव आठ प्रतिशत}, गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना {१७ दशमलव नौ प्रतिशत}, लुम्बिनी प्रदेशमा छ सय ५५ जना {१ दशमलव सात प्रतिशत} र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना {दुई दशमलव आठ प्रतिशत} सङ्क्रमण देखिएको छ ।
जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना {४२ दशमलव तीन प्रतिशत} सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना {१२ दशमलव दुई प्रतिशत}, झापामा तीन हजार पाँच सय ८१ जना {नौ दशमलव ४ प्रतिशत}, धादिङमा तीन हजार एक सय ३० जना {आठ दशमलव दुई प्रतिशत}, मोरङमा दुई हजार दुई सय ७४ जना {छ प्रतिशत}, कास्की जिल्लामा एक हजार चार सय ८१ जना {तीन दशमलव नौ प्रतिशत}, र काठमाडौंमा आठ सय दुई जना {दुई दशमलव एक प्रतिशत} सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना {१५ दशमलव नौ प्रतिशत} डेङ्गुबाट सङ्क्रमित भएका छन् ।
कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् ।गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।