मुस्ताङ : यहाँको घरपझोङ- २ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्।
स्थानीय सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।
किसान परियारको मार्फास्थित गाउँभित्रको खोरमा ४५ भेडाच्याङ्ग्रा थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिब ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्। हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकको पशुधनमा क्षति पुर्याउने गरेको पाइएको छ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरु पशुपालन व्यवसाय छोड्न थालिसकेका छन्।