काठमाडौं : हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने समय हो। तर, यस पटक भने काठमाडौं उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ। वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन्।
अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौंको आकाश धुम्म थियो। केही दिनयताको वर्षाले रुखविरुवाका पात पखालिए भने सडक र बस्ती पनि सफा भएका छन्।
वर्षासँगै काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो हटेको छ। तुवाँलो हटेसँगै उपत्यकाका वरपरिका डाडाहरू पनि स्वच्छ र हरियाली वातावरण देखिएको छ।
यतिबेला काठमाडौंको मुख्य सडकका छेउछाउदेखि विभिन्न पार्कमा हरियाली छाएको देख्न सकिन्छ। वसन्त ऋतुमा धेरै विदेशी पाहुनाहरू समेत नेपाल आउने गरेका छन्।
काठमाडौंको लैनचौर–महराजगञ्ज सडक, जमल–भद्रकाली सडक, माइतीघर–तीनकुने सडक, थापाथली–कालिमाटी सडक, ललितपुरको कुपण्डोल–पुल्चोक–जावलाखेल सडकका वरपर फूलेका फूलहरूले मानिसको ध्यान तानेको छ।
ललितपुरमा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चिरिबाबु महर्जन नगरप्रमुख भएसँगै त्यहाँको सडक वरपर रहेका बोटबिरुवाको संरक्षण गरी थप वृक्षारोपण गरिएको थियो।
ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना वरपर पनि हाल हरियाली छाएको छ। यसैगरी, काठमाडौंको मुटुमा रहेको शङ्खधर उद्यान (रत्नापार्क), बाइसधारा उद्यान (बालाजु पार्क) शङ्खपार्कलगायतका पार्कका बोटबिरुवामा पालुवा पलाएर हरियाली छाएको छ।
सन् २०१४ को डिसेम्बरमा काठमाडौंमा भएको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको समयमा विदेशी पाहुनाको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सोल्टी होटलसम्म बोटबिरूवा रोपिएको थियो।
तीमध्येका कतिपय बिरुवा हुर्काउन नसकिए पनि केही बिरुवा भने सोही क्षेत्रका स्थानीयले मलजल गरी मर्न दिएका थिएनन्। ती बिरुवा हुर्केर सडक छेउछाउको शोभा बढाएका छन्। बाँकी रहेका ती बिरुवा हुर्केर अहिले काठमाडौंको सौन्दर्यमा केही चमक थपिदिएको छ।
कोरोना महामारीको समयमा अक्सिजनको महत्वको खुब प्रचार भएको थियो। त्यसपछि मानिसहरूमा सम्भव भएसम्म घर परिसर या वरपरको बस्ती तथा सडकमा रुख बिरुवा हुर्काउनुपर्छ भन्ने चेतना र भावना बढेको पाइएको छ। यसले पनि पछिल्लो समयमा काठमाडौंमा हरियाली वातावरण बनाउन केही सहयोग पुगेको पाइएको छ।
कोरोनाको बेलामा अक्सिजनको चेतना भएसँगै धेरै मानिसहरूले घर वरपर र छतमा वृक्षारोपण गरेका छन्। त्यस महामारी यता काठमाडौंमा कौशी खेती बढेको पनि पाइएको छ। उक्त कार्यले पनि काठमाडौंको हरियालीमा थप सहयोग पुगेको छ।
काठमाडौं महानगरपालिका अन्तर्गत उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठ महानगरभित्रका विभिन्न १४० खुला स्थानमा पार्क निर्माण गरी हरियाली प्रवर्द्धनलाई अगाडि बढाउँदै आएको बताउँछन्।
‘काठमाडौंभित्रका खुला ठाउँमा पार्क निर्माण गरी विभिन्न प्रजातिका फूल रोप्ने, दुबो रोप्ने, खोलाका किनारामा वृक्षारोपण गर्नेलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ,’ उनी भन्छन्। महानगरले चार भागमा बाँडर ठेक्कामार्फत पार्कको व्यवस्थापन गर्दै आएको उनको भनाई छ।
पार्कमा फूल रोप्ने, दुबो रोप्ने, पार्कको सरसफाईलगायतका काम ठेकेदारमार्फत हुँदै आएको छ। अहिले काठमाडौं भित्रका अधिकांश पार्कमा सिजनल फूलहरू फुलिरहेका छन्।
यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला सडकको आसपासमा रहेका फूटपाथमा बिरुवाहरू रोप्ने कामसमेत गर्दै आएको छ। आर्थिक वर्ष २०८१/०८२ मा मात्र आठ हजार बिरुवा रोपिएको इन्जिनियर श्रेष्ठ बताउँछन्। चालू आवमा पनि चार हजार बिरुवा रोप्ने कार्यक्रम रहेको उनको भनाई छ।
महानगरले गत वर्ष रोपेर मरेका बिरुवाको ठाउँमा पुन नयाँ बिरुवा रोप्ने अभियानलाई समेत अगाडि सारेको छ। इन्जिनियर श्रेष्ठ महानगरले एक सिजनमा ३० हजार फूलका बिरुवा रोप्ने गरेको बताउँछन्।
यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला रुखहरूलाई काँटछाँट गरेर मिलाउने गरेको छ। काठमाडौंभित्रका दुई ठूला नदी बागमती र विष्णुमति नदीको किनारामा पाँच फिटभन्दा अग्ला बेगमबेली र विभिन्न प्रजातिका फलफूल रोप्ने कामलाई अगाडि बढाइएको इन्जिनियर श्रेष्ठ बताउँछन्।
शङ्खधर उद्यान तथा रानीपोखरी एकाई (रत्नापार्क) का प्रमुख उत्तमकुमार घले पछिल्लो समय रत्नापार्कको हरियाली हेर्न थुप्रै मानिसहरू आउने गरेको बताउँछन्। विगत १५ वर्ष अगाडि रत्नापार्कलाई फोहरको दृष्टिकोणले हेर्ने गरेपनि पछिल्लो समय महानगरको उद्यान तथा हरियाली प्रवर्द्धन महाशाखाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको उनी बताउँछन्।
रत्नापार्कका प्रमुख घले पार्कभित्र ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, एकल महिलालाई प्रवेश नि:शुल्क गरिएको बताउँछन्। रत्नपार्कभित्र अहिले नि:शुल्क इन्टरनेट सेवा जडान गरेसँगै यहाँभित्र प्रवेश गरेर इन्टरनेट सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ। काठमाडौंभित्रको वातावरण सौन्दर्यलाई थप प्रभावकारी बनाउन पार्कले विभिन्न योजना अगाडि सारेको छ।
डिभिजन वन कार्यालयका काठमाडौंको सूचना अधिकारी अनुपा घिमिरे काठमाडौंभित्रको हरियालीलाई कायम गर्न डिभिजन वन कार्यालय काठमाडौंले चाल्नाखेलमा एक लाख बिरुवा उत्पादन गरेको बताउँछिन्। उत्पादित बिरुवालाई वहुवर्षीय रूपमा वृक्षारोपण गर्दै जाने उनको भनाई छ।
सूचना अधिकारी घिमिरे डिभिजन वन कार्यालयले काठमाडौंभित्रका सडकको सौन्दर्यलाई कायम राख्न गत वर्ष टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कलङ्कीदेखि थानकोट सडकका फुटपाथमा एक हजारभन्दा बढी बोटबिरुवा वृक्षारोपण गरेको बताउँछिन्।
यसबाहेक डिभिजन वन कार्यालयले गत वर्ष काठमाडौंभित्रका विभिन्न संघ, संस्था र समूहलाई वृक्षरोपणका लागि १० हजार बिरुवा उपलब्ध गराएको छ भने काठमाडौंभित्रका १३७ सामुदायिक वनलाई समेत हजारौँ बोटबिरुवा उपलब्ध गराएको सूचना अधिकारी घिमिरे बताउँछिन्।
डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा काठमाडौंका विभिन्न सडक पेटीमा झण्डै एक हजार बोटबिरुवा रोप्ने लक्ष्य लिएको छ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ हरियाली वातावरणसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउने बताउँछन्।
‘जति स्वच्छ वातावरण भयो, त्यति नै मानिसले स्वच्छ रूपमा श्वासप्रश्वास गर्न पाउँछ, स्वच्छ वातावरण भएसँगै फोक्सो, मुटुलगायतमा हुने संक्रमणमा कमी आउँछ,’ डा.श्रेष्ठ भन्छन्।
वसन्त ऋतुको समयमा विभिन्न प्रजातिका बोटबिरूवाहरूले पालुवा फेर्ने हुँदा यहाँको सौन्दर्यले मानिसमा मनमोहक वातावरण पैदा गरेको छ। पहिले पहिले काठमाडौं धुलाम्मे तथा फोहर मात्र देखिने सहरका रूपमा मानिसहरूले लिने गर्दथे।
काठमाडौंको मुहार फेरिएको छ। अब राजधानी सहरलाई त्यसरी चित्रण गर्नु हुँदैन। यो हरियालीले पनि यही सन्देश प्रवाह गर्न खोजेको छ।