सिन्धुली : वैशाखको चर्को घामले जमिन तातेको छ। शीतल दिने छहारी छैन। छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा। छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरू ढाकिन सकेका छैनन्। फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम वा असार–साउनको झरी किन नहोस्, दैनिक हाट र फुटपाथमा संर्घष गरिरहेका भेटिन्छन्।
एकहत्तर वर्षीया ढाटिमाया दर्जीले यो यात्रा सुरु गरेको झन्डै तीन दशक बित्नै लागिसकेको छ। २७ वर्षअघि उनले ३५ रुपैयाँको लगानीमा व्यापार सुरुवात गरेकी थियन्। ढाटिमायाको व्यापारीक यात्रा फापरको सागबाट भएको हो। “किसानसँग प्रतिमुठ्ठा दुई रुपैयाँका दरले १८ मुठ्ठा सागलाई ३६ रुपैयाँ पथ्र्यो, मलाई किसानले एक रुपैयाँ छुट दिए। मैले त्यो साग तीन रुपैयाँ नाफा लिएर प्रतिमुठा पाँच रुपैयाँमा बेचेँ। ३५ रुपैयाँको लगानी बढेर ५५ रुपैयाँको भयो,” उनले विगत सम्झिदै सुनाइन्।
पहिला सिन्धुलीसँगै रामेछाप, दोलखासम्मका हाट, मेला, महोत्सवमा व्यापार गर्न पुग्ने ढाटिमायाले त्यसरी नै व्यापार विस्तार गर्दै गइन्। ३५ रुपैँयाबाट सुरुवात गरेको व्यापार बढेर अहिले झन्डै ३५ हजारको भएको छ। सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा साप्ताहिक रुपमा लाग्ने शनिबारे हाटको उनी नियमित व्यापारी हुन्।
आज पनि गाउँमा उत्पादित मौसमअनुसारका उत्पादन बेचिराखेका छन्। साग, अदुवा, बेसार, केरा, खुर्सानी, अमला, बदाम, अम्बा, गुन्द्रुकजस्ता सामान उनी बिक्रीमा राख्छिन्। उनी भन्छिन्, “मेरो हैसियतअनुसारको व्यापार गरिरहेको छु। आजसम्म कसैसँग मागेर खानुु परेको छैन। म आफ्नै पौरखमा बाँचेको छु। जेनतेन घरखर्च धानेकै छु।”
आज आमाको मुख हेर्ने दिन। उनलाई पनि आफ्ना सन्तानले आज अरु आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउनान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन्। ढाटिमायाका आठ सन्तान थिए–पाँच छोरी र तीन छोरा। सबै छोरी र कान्छो छोरो अकाल्मै बिते। बाँचेका दुई छोरा–बुहारीको पनि साथ छैन उनलाई। टन्टलापुर घाममा व्यापार गर्ने ढाटिमायालाई घामको तापले भन्दा बितेका सन्तानको शोकले पिरोलिरहन्छ। उनको साथमा श्रीमान त छन्। तर कठिन सङ्र्घषमा सधैँ एक्लै जुध्न परेको तीतो अनुभवले सुनाइन्।
ढाटिमायाकै सारथी हुन्, सुकुमाया। उमेरले ८० कटेकी सुकुमाया ३५ वर्ष भयो व्यापारमा लागेको। यस अवधिमा भिमानमा लाग्ने शुक्रबारे हाट, सिन्धुलीमाढीमा लाग्ने बुधबारे र शनिबारे हाटदेखि दोलखा, रोमछापमा लाग्ने हाटमासमेत उनी पुगेका छन्। अझैसम्म पनि यो यात्रा रोकिएको छ। “आफैँमा आत्मनिर्भर भएमा कसैले हेप्न सक्दैन। शरीरले साथ दिएसम्म मिहेनत गर्छु। मलाई कसैको आशा पनि छैन,” सुकुमायाले भनिन्। सानो लगानीमा मुठ्ठी, मानोको व्यापार गरेरै पनि जीविका चलाउन सकिने उनी बताउँछिन्।
सुको मानो खुर्सानी बेचेकी फूलमायालाई बजारमा सामानको मूल्य आकासिएको देख्दा आत्तेसै लाग्छ। उनले शनिबारे हाटमा मात्रै ३१ वर्ष भयो व्यापार गरेको। गाउँ–घरमा उत्पादन भएका अर्गानीक सागसब्जी, फलफूललगायतका सामान उनले बेच्दै आएकी छिन्। उमेरले ७२ वर्ष पुगेकी फूलमायालाई आफ्ना पाखुरा चलुन्जेल कसैलाई पनि दुःख दिने मन छैन। “मेरो छोरा नेपाली सेनामा जागिरे छ। तर, आजसम्म छोरालाई दुख दिएको छैन। म आफ्नै कमाइले बाँचिरहेको छु। यसैगरी काम गर्दा–गर्दै, पैसा कमाउँदा–कमाउँदै मर्न पाईओस्” उनले भनिन्।
ढाटिमाया, सुकुमाया र फूलमाया एकअर्काको सारथी हुन्। प्रायः हाटमा व्यापार सँगै–सँगै गरेको देखिन्छ। आज पनि उनीहरू शनिबारे हाटमा लहरै बसेर व्यापार गरिराखेका छन्। हाटमा मात्रै कहाँ हो र ! फुटपाथमा पनि सानो लगानीमा व्यापार गर्नेहरू महिला बाक्लै भेटिन्छन्। सावित्री थापाले फुटपाथमा व्यापार सुरु गरेको चार वर्ष वित्यो। उनी दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिन्धुलीमाढी क्षेत्रकै फुटपाथमा व्यापार गर्छिन्। यसका बाध्यता धेरै छन्।
उनी दुई सन्तानकी आमा हुनुहुन्छ। छोरीको विवाह भइसकेको छ। छोराका दुई नाति छन् तर कमाएर पाल्ने छोरो विरामी भएर थलिएपछि उनले ६० वर्षको उमेर फुटपाथमा व्यापार गर्नु परेको हो। आज उनले सिन्धुलीमाढीस्थित भेटेनरी चोकमा खुर्सानी, कुखुराको अण्डा, केरा, गुन्द्रिुक, वन सिलाम, टिमुर, बेसार बेच्न राखेकी छिन्। व्यापारबाट दैनिक कमाइ चार सयदेखि एक हजारसम्म हुने गरेको उनले बताइन्।
त्यसो त ८० वर्षीया देवकुमारी भुजेल पनि फुटपाथमै सङ्र्घष गरिराखेकी छिन्। पोलेको र हरियो मकै, बेसार, खुर्सानी, अमला उनले बेच्छिन्। सामाजिक सुरक्षा भत्ताले औषधि खान नपुगेपछि उनी अझैसम्म पनि सडकमा सङ्घर्ष गर्न बाध्य छिन्। आफ्ना सन्तानको अपहेलना सहन नसकेर उनी छुट्दै कोठा भाडामा लिएर बस्दै आएकी छिन्। देवकुमारीलाई एक्लो बुढेसकाल बिताउन जति सङ्र्घष छ, त्यत्तिकै कठिन छ–अनितादेवी रामलाई तीन सन्तानको पालनपोषण गर्न। श्रीमान् बितेपछि फुटपाथमा उनको सङ्घर्ष सुरु भएको हो।
महोत्तरीका गौशलाकी अनितादेवीको परिवार १२ वर्षदेखि कमलामाई नगरपालिका–५ चिसापानीमा कोठा भाडामा बस्दै आएको छ। परिवारको एक मात्रै साहारा बनेका विजय राम रोगले थलिएर बितेपछि अनितादेवी बेसहारा भइन्। आफन्त, परिवारको समेत उनले साथ पाइनन्।
विजय बित्दा जेठो छोरो १० वर्षका थिए। भोक मेटाउन गासको समस्या बढ्न थालेपछि उनले विजयले गरेको कामलाई निरन्तरता दिन थाले। गौमती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेका चन्दनको पढाइ छुट्यो। त्यसपछि अनितादेवी आफैँले चुत्ता–चप्पल सिलाउन, पोलिस लगाउन सिकिन्। आफूले सीप जानेपछि छोरालाई पढ्न विद्यालय पढाइन्, आफू काममा खटिइन्।
यो यात्राको सुरुआत सजिलो थिएन। श्रीमानको निधनपछि जीवनले एका–एक कठिन मोड लियो। “पहिला म घरायसी धन्दामै व्यस्त हुन्थेन। मैले यो काम जानेकै थिइन। बुबाले गरेका काम देखेर बरु छोराले जानेको रहेछ, मैले उसैसँग काम सिकेर गर्न थालेकी हुँ”, उनले सुनाइन्।
श्रीमान् साथमा हुँदा घरधन्दामा मात्रै सीमित रहेकी अनितादेवीले पछिल्लो समय बाहिरको काम पनि भ्याउनुपर्ने बाध्यता छ। बिहानको घरधन्दा सकेर छोराछोरीलाई विद्यालय पठाउनु अनि आफूलाई आवश्यक पर्ने औजार बोकेर फुटपाथमा चुत्ता–चप्पल सिलाउन निस्किनु उनको दैनिकी हो। “दिनभरि चुत्ता–चप्पल सिलाउँदा हातका औँला छेडिन्छन्, पाखुरा दुखेर कहिले राम्रो निन्द्रा पर्दैन। काम दुःखको छ। तर, गर्नुपर्ने बाध्यता छ”, उनले भनिन्।
अनितादेवीले जुत्ता, चप्पल सिलाएको एक सय र जुत्ता पोलिस गरेको रु ५० लिने गरेकी छिन्। पोलिस, जुत्ता सफा गर्ने ब्रस, सोल र जुत्ताको लेस बेच्न राखेकी छिन्। उनका श्रीमान्ले त्यही जुत्ता सिलाउने पेसाबाटै दैनिक १५ सयदेखि १८ सयसम्म कमाउनुहुन्थे। अनितादेवीको भने कमाई कम हुन्छ। उनी भन्छिन्, “कहिले कमाइ नै हुँदैन। कहिले पाँच सयदेखि रु एक हजारसम्म हुन्छ।”
महिला भएकाले अनितादेवीलाई पुरुषले जुत्ता, चप्पल सिलाउन, पोलिस गर्न दिनुहुँदैन। लक्ष्मीको रुप मानेर होला, महिलाबाट मात्रै काम आउँदा आम्दानी कम हुने उनको भनाइ छ। फुटपाथमा बसेर काम गर्दा उनले धेरै खालका व्यवहार पनि भोगिन्। समाजको दृष्टि, आफ्नै सङ्कोच र लाजले उनलाई धेरैपटक टुटाएको थियो। “कतिपयले खिसिटिउरी गर्थे। यो काम पुरुषले मात्रै गर्ने हो, तिमी भाँडा माझ्ने काम खोज्न जाउ पनि भने”, अनितादेवीले सुनाइन्। उनले सुरु–सुरुमा अप्ठ्यारो मान्दै, लजाउँदै सुरु गरेको यो यात्राले साढे तीन वर्ष पार गर्न लागिसकेको छ। तर, फुटपाथमा जुत्ता–चप्पल सिलाएर जीविका धान्ने कठिन सङ्र्घष कम भएको छैन।
फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई बेला–बेलामा नगर प्रहरीले उठाउँछन्। यसले फुटपाथमा सानो व्यापार, व्यवसाय गरेर जीविका चलाइरहेकाहरू समस्यामा पर्ने गरेका छन्। स्थानीय सरकारले पनि यसको उचित व्यवस्थापना गर्न सकेको छैन।
व्यस्थापन गर्ने प्रयास भने गरिएको पालिकाका जनप्रतिनिधिहरू बताउँछन्। चरम अभाव र दबाबका कारण फुटपाथमा पसिना बगाइरहेका यस कथाका पौरखी महिलाहरूलाई थोरै विस्मात आफ्नो भाग्यसँग छ तर कसैसँगै गुनासो छैन। आजको कठिन सङ्र्घषले एक दिन भाग्य बदलिने आशा भने सबैमा जीवित छ।