सुचना, समाचार र मनोरन्जन

मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो

म्याग्दी/

मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ । घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् ।

‘सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो’, उनले भने, ‘अरु ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा बगरको सतह बढेर बस्तीमै पुग्न थालेको छ ।’

बर्सेनी भौतिक संरचनामा ठूलो क्षति भएको स्याङका बासिन्दा ङुटुक गुरुङले बताए । ‘नदी नियन्त्रण गर्न पक्की र ग्याबिन पर्खाल निर्माण भए पनि बगरको सतह बढेर बस्तीमै आउन थालेको छ’, उनले भने, ‘नदी नियन्त्रण र बगर व्यवस्थापनको प्रभावकारी कदम नचाल्ने हो भने मुस्ताङको तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्न धेरै वर्ष पर्खनुपर्दैन ।’

छुसाङ, कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, टुकुचे, खन्ति, कोवाङ, लार्जुङ र लेतेका तटीय बस्ती बगरको सतहसँगै बाढीको जोखिममा परेका हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले केही वर्षयता मुस्ताङमा वर्षा हुने क्रम बढेसँगै सहायक खोलामा आउने बाढीले बगाएर ल्याउने गेग्रर बगरमा थुप्रिँदा समस्या भएको बताए ।

‘सर्वोच्च अदालतको आदेश र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको नीतिगत समस्याका कारण स्थानीय तहले कालीगण्डकी नदीको बगर उत्खनन् गर्न पाएका छैनौं’, उनले भने, ‘कालीगण्डकीको बगरको व्यवस्थापन र बाढी नियन्त्रणका लागि राज्यले विशेष किसिमले सम्बोधन गर्नुपर्छ ।’ गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

जोमसोम केन्द्रमा वार्षिक औसत २९२ दशमलव सात मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिदा बाढी आउने गरेको छ । ‘खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुदैन् । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ’, उनले भने, ‘सडक, पुल र भवन जस्ता भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढीपहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।’

खोलामा गेग्रान थुप्रिँदै जाने र व्यवस्थापन नगर्दा बस्ती भन्दामाथि बगर हुन थालेको हो । केही दिनअघि मुस्ताङ भ्रमण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मुस्ताङमा कालीगण्डकीको बगर व्यवस्थापन र बाढी नियन्त्रणका लागि विशेष नीतिगत पहल गर्नुपर्ने देखिएको बताए ।

‘समुदाय र जनप्रतिनिधि तहबाट बगर बस्तीमाथि आउन थालेको विषय गम्भीर रुपमा उठेको छ’, उनले भने, ‘प्रधानमन्त्री, मुख्यमन्त्री तहमा पनि यो विषयले ध्यानाकर्षण भएकाले समस्याको सम्बोधन हुनेमा आशावादी छौँ ।’ मनाङ र मुस्ताङमा सडक र मोटरेबल पुल बनाउँदा बाढी तथा नदीको सतहलाई पनि ध्यान दिएर डिजाइन गर्न थालिएको मन्त्री जुग्जालीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.