सुचना, समाचार र मनोरन्जन
Auto

ठडिँदै ‘मानवताका मन्दिर’

पोखरा /

नेपाललाई मानवताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । आश्रमका अभियन्ताका भनाइमा ती भवन ‘मानवताका मन्दिर’ हुन् । गण्डकी प्रदेशस्थित आश्रमका कास्की, बागलुङ, लमजुङ र गोरखा शाखा अब छिट्टै आफ्नै भवनबाट सञ्चालन हुने कास्कीस्थित मानवसेवा आश्रमका संयोजक सदिस पुनले बताए ।

आश्रमको पोखरा २५ हेम्जामा निर्माणाधीन भवनमा १० करोड खर्च हुँदै छ । ‘भूइँ तला र तेस्रो तला फिनिसिङ हुने चरणमा छ’, संयोजक पुनले भने, ‘बीचको तलाका लागि पोखरा महानगरले रु ७१ लाख सहयोग गर्ने कबोल गरेकाले बजेटको पखाईमा छौँ, अरु दाताबाट पनि सहयोग आइरहेको छ ।’

५ लाख ११ हजार १ सय ११ सहयोग गर्ने दाताको नाममा कोठाको नामकरण गरिने भएपछि २० भन्दाबढी त्यस्ता सहयोगी जुटेका छन् । आश्रम निर्माणका लागि गतवर्ष माघमा आयोजना गरिएको महायज्ञबाट ३ करोडभन्दा बढी आर्थिक संकलन भएको संयोजक पुनले जनाए । विसं २०७५ चैतदेखि निर्माण थालिएको उक्त आश्रम भवन २ सय जनालाई आवसीय सुविधा दिने गरी बन्न लागेको हो ।

आश्रमको कास्कीमा २ सेवा केन्द्र छन् । हेम्जामा १ सय ११ जना र छोरेपाटनमा ६५ जना असहायले आश्रय लिइरहेका छन् । छोरेपाटन सेवा केन्द्रमा महिलामात्र आश्रित छन् । ‘सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार र जीवन रक्षामा आश्रम क्रियाशील छ’, संयोजक पुनले भने, ‘आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर, सडकआश्रित मानवको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।’

मानव सेवा आश्रमका कास्की, बागलुङ, लमजुङ र गोरखा शाखा अब छिट्टै आफ्नै भवनबाट चल्दै छन् ।

आश्रम निर्माणमा प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, संघ संस्था र सर्वसाधारण दाता लगायतको हातेमालो छ । आश्रमको बागलुङ शाखा भवन पनि निर्माणकै चरणमा छ । बागलुङ नगरपालिका ४ निरयघाटमा बन्न लागेको आश्रमको ४० प्रतिशत निर्माण सकिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले जनाए । ‘स्रोत जुटाउन सकियो भने विसं २०८२ भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘१२ करोड ७५ लाखको लागत योजनासहित आश्रम निर्माणको काम भइरहेको छ ।’

sfal

अध्यक्ष खड्काका अनुसार आश्रमका लागि चालु आवमा गण्डकी प्रदेश सरकारबाट २५ लाख, बागलुङ नगरपालिकाबाट ४ लाख, बरेङ गाउँपालिकाबाट ६ लाख, गलकोट नगरपालिकाबाट ५ लाख र म्याग्दीको बेनी नगरपालिकाबाट ४ लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकाले गत आवमा ५० लाख बजेट दिएको अध्यक्ष खड्काले जानकारी दिए ।

गत आवको तुलनामा चालु आवमा कम बजेट रहेकाले भवन निर्माणमा केही ढिलाइ हुने देखिएको छ । ‘जतिसक्दो भवन निर्माण सकेर नयाँ ठाउँबाट सेवा दिन हामी आतुर छौँ”, आश्रमका अभिभावकसमेत रहेका खड्काले भने, ‘अहिले अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ, साँघुरो ठाउँबाट सेवा सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता छ ।’ स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो ।

अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुर्नमिलन भएको सो आश्रमका संयोजक विपना तामाङले सुनाइन् । मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि २ वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । ३ तले उक्त भवन पनि २ सय क्षमताको रहने संयोजक तामाङले बताइन् । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने छन् ।

गोरखा र लमजुङ शाखाका भवन निर्माण पनि जारी रहेको मानवसेवा आश्रमका केन्द्रीय सदस्य सुमिरा लामाले जानकारी दिइन् । ‘अहिलेको आर्थिक मन्दिले केही असर पुग्ने देखिएको छ, तैपनि विसं २०८२ भित्रमा आश्रमका सबै शाखा र सेवा केन्द्रको आफ्नै भवन बनाउने लक्ष्यसहित हामी काममा खटिएका छौं’, केन्द्रीय सदस्य लामा भन्छिन् ।

लमजुङ शाखा भवनको १५ करोड र गोरखाको शाखा भवनको ३ करोड लागत योजना छ । गण्डकी प्रदेशसहित देशभर गरी ११ जिल्लामा आश्रमका भवन निर्माणको चरणमा छन् । आश्रमको केन्द्रीय कार्यालय हेटौँडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भने भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेका छन् ।

१२ करोडमा काठमाडौँमा बन्ने भवनका लागि नागार्गुन नगरपालिकाले जग्गा र काठमाडौँ महानगरपालिकाले बजेट उपलब्ध गरिदिएका छन् । मानवसेवा आश्रमले अहिलेसम्म १९ जिल्लामा सेवा विस्तार गरिसकेको छ । हाल देशभरका आश्रमका शाखा र सेवा केन्द्रमा गरी १ हजार ६ सयभन्दा बढीले आश्रय लिइरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिइन् ।

हालसम्म २ हजार ८ सयभन्दा बढीको पारिवारिक पुर्नमिलन भएको छ भने २ हजार २ सयभन्दा बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् । आश्रममै रहेका बेला ८ सय २६ जनाले मृत्युवरण गरेका छन् ।

Leave A Reply

Your email address will not be published.