पोखरा /
बागलुङका कवि/आख्यानकार भूपिन ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’बाट सम्मानित हुने भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले एक सूचना जारी गर्दै भूपिनलाई सो सम्मान दिने निर्णय गरेको हो।
प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले बताए ।
यस वर्ष सो सम्मान भूपिनलाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ। सो सम्मान राशि एक लाख रुपैयाँ रहेको छ । बागलुङ, बलेवामा जन्मिएर चितवनमा साहित्य साधना एवं प्राध्यापन गर्दै आइरहेका भूपिन नेपाली साहित्यमा बहुविधा शिल्पी मानिन्छन् ।
उनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७२) कवितासंग्रह प्रकाशित छन्। त्यस्तै, ‘चौबिस रिल’ निबन्धसंग्रह (२०६९) र उपन्यास ‘मैदारो’ (२०७५) तथा ‘भूपिनका कविता’ (२०८०) प्रकाशित छन्।
