सुचना, समाचार र मनोरन्जन

प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

कपिलवस्तु,

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (Best Traffic Police of the Month) घोषणा गरेको छ।

सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्दै कपिलवस्तु जिल्लाभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाएको, सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथा ट्राफिक प्रहरी परिचालन र नियन्त्रणमा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठ महिनाको तुलनामा असार महिनामा कपिलवस्तु जिल्लामा सवारी दुर्घटना, दुर्घटनाबाट घाइते हुने तथा मृत्यु हुने घटनामा उल्लेखनीय कमी आएको छ। त्यसैगरी, असार महिनाभर आम नागरिक, चालक, सहचालक तथा सवारीधनीलाई लक्षित गरी २०१ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमबाट १३ हजार ७३५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११६ वटा सवारी साधनलाई कारबाही गरिएको छ भने क्षमता भन्दा बढी भार बोकेका ६४२ वटा सवारी साधनलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न सवारी साधनका चालकहरूको नियमित लापसे (मादक पदार्थ सेवन) परीक्षण समेत सञ्चालन गरिएको थियो। परीक्षणका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएका तीन जना चालकलाई आवश्यक कानुनी कारबाहीका लागि पठाइएको कार्यालयले जनाएको छ।

जिल्लाभरका ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, ट्राफिक व्यवस्थापनमा सुधार, जनचेतना अभिवृद्धि तथा कानुन कार्यान्वयनमा देखाएको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक राजन ढकाललाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.