सुचना, समाचार र मनोरन्जन

निराश रोहिङ्ग्याको समुद्री पलायन

 

म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको क्रम रोकिएको छैन ।

२५ वर्षीया राहेला बेगम त्यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल भएकामध्ये एक हुन् । सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुगेकी उनले शिविरमा बढ्दो कठिनाइपछि गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रा सुरु गरेको थियो ।

करिब २८० जना यात्रु बोकेको डुङ्गा चार दिनपछि अन्डमान सागरमा डुबेपछि उनी दुई दिन र एक रात काठको एउटा पाटामा अडिएर समुद्रमा बगेकी थिइन् । अन्ततः उद्धार जहाजको ध्यानाकर्षण भएपछि उनको ज्यान जोगिएको थियो ।

“मैले एउटा काठको फलेक समात्न सफल भएँ । त्यसैको सहारामा दुई दिन र एक रात बिताएँ । म मृत शरीरजस्तै समुद्रमा तैरिरहेको थिएँ, धेरै प्रयासपछि मात्र टाउको उठाएर उद्धारकर्ताको ध्यान खिच्न सकेँ”, उनले भनिन् ।

हाल कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न वा रोजगारी गर्न नदिने नीति अपनाएको छ । यही अवस्थाले धेरैलाई समुद्री मार्गबाट मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण निर्णय गर्न बाध्य बनाइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ मा छ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्गबाट शिविर छोड्ने प्रयास गरेका थिए । तीमध्ये करिब ९०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । यस वर्ष जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा थालेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो ।

मानव बेचबिखन गर्ने गिरोहले राम्रो जीवनको आश्वासन दिँदै शरणार्थीलाई प्रलोभनमा पार्ने गरेका छन् । कक्स बजारबाट करिब एक घण्टाको दूरीमा रहेको टेकनाफबाट यात्रुहरूलाई ट्रलरमार्फत समुद्रमा पु¥याइन्छ र त्यसपछि ठूला जहाजमा सारेर दक्षिणपूर्वी एसियातर्फ पठाइने गरेको छ ।

नाम नखुलाउने सर्तमा एक तस्करले प्रत्येक यात्राबाट आफूले दुई लाख ५० हजार टकासम्म आम्दानी गर्ने गरेको स्वीकार गरे । उनका अनुसार यस्तो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ ।

बङ्गलादेशी अधिकारीहरूले भने मानव बेचबिखन नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन् । तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष मात्रै ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ । नाफ नदी क्षेत्रमा नियमित गस्ती भइरहेको र थप घटना रोक्न अधिकतम सतर्कता अपनाइएको उहाँले बताए ।

यद्यपि स्थानीय अधिकारीहरूले सीमित स्रोतसाधनका कारण मानव बेचबिखनको सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको स्वीकार गरेका छन् । कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । उनले अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुने र तस्करहरूको प्रभाव बलियो रहेकाले कारबाही चुनौतीपूर्ण बनेको बताए ।

स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानले रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले समस्या अझ जटिल बनेको उल्लेख गरे ।

युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाले शिविरको कठोर जीवन नै पलायनको मुख्य कारण भएको बताए । उनका अनुसार धेरै शरणार्थी दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोगमा जीवन गुजार्न बाध्य छन्, त्यसैले राम्रो भविष्यको आशामा उनीहरू जोखिमपूर्ण यात्रा रोजिरहेका छन् ।

 

उनले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताए । तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी द्वन्द्व अझै रोकिएको छैन । अमेरिकास्थित संस्था एसीएलइडीका अनुसार उक्त द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

कक्स बजारस्थित बाँस र त्रिपालले बनेको आफ्नो अस्थायी बासमा फर्किएकी राहेला बेगमले समुद्री दुर्घटनासँगै आफ्नो स्वतन्त्र जीवनको सपना पनि डुबेको बताए ।

“भगवानले मलाई कतै पनि शान्ति दिनुभएन । आफ्नै देशमा पनि होइन, यहाँ पनि होइन”, उनले पीडाभाव व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.