काठमाडौँ :
रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो। यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ।
विपत्तिले दिएको त्यही पीडा,छटपटी,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाकारले आफ्ना सिर्जनामार्फत उतारेका छन्। त्रिशूलीको बाढीले बगाएका बस्ती, भत्किएका सपना र फेरिएको भूगोलको कथालाई समेटेर बाढीबाट एउटा सभ्यतानै सकिएको देवीघाटका गायक प्रचण्ड बाबु राइले ‘खै कहा छ मेरो गाउँ ‘ गीत ल्याएका छन्।

गीतकार उमेश लम्सालको शब्द रचना र संगीतकार हरि लम्सालको संगीत रहेको गीतले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा र बस्ती विस्थापनलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। दीक्षित पौडेलले गीतको एरेन्ज गरेका हुन्।
आफै घर गुमाएका बाढीपिडित गायक प्रचण्डबाबु र पवित्रा आचार्यले गीतको भिडियोमा मार्मिक अभिनय गरेका छन्।बाढी प्रभावित क्षेत्रमा नै खिचेर भिडियो तयार गरिएको छ। शिबन पोखरेलको निर्देशनमा बनेको भिडियोमा सुदीप मैनालीको सिनेमाटोग्राफी,निरन्जन के सीको सम्पादन रहेको भिडियोलाई टुभेलनोट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।