सुचना, समाचार र मनोरन्जन

नवौं संस्करणको निफ चैत १९ बाट,पहिलो विजेताले कति पाउदैछ अमेरिकन डलर?

काठमाडौं :

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ९निफ०को नवौं संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ।

निफको नवौं संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ चलचित्रहरू हेर्न पाउनेछन् र चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।
‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरु चयन गरिएको निफले जनाएको छ।

‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रहरुलाई प्राथमिकता दिएका छौं । निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,’ निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘युवा मेकरहरुलाई प्रोत्सहान गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं । चलचित्रबाट युवादर्शकहरुलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।’

यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रहरुले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ । ती ८०० मध्येका उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरु चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सव चलचित्र छनोट समिति’को विश्वास छ ।

‘पहिलाका संस्करणको तुलनामा यो पटक बढी चलचित्रको सहभागिता भएको छ । सबैभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरुको निफप्रतिको विश्वास बढेको हो ।’

विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका,संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरु गरी ४० देशका ८८ वटा चलचित्रहरु निफले छनोट गरेको हो ।

गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो । त्यसबेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो ।गत भदौं २३–२४ मा भएको जेन(जी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ ।

अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषयहरु सरोकारमा पर्छन् । यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सभागीता हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।’

यी विधामा दिइनेछ अवार्ड

निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रका विजेता ‘गौतम बुद्ध अवार्ड’बाट एक हजार पाँच सय अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन् । त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रका विजेता एक लाख  रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन्। डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने ‘माउन्टे एभरेस्ट अवार्ड’ विजेता घोषित भइ पुरस्कार स्वरुप एक हजार अमेरिकी डलर र ट्रफी पाउनेछन् ।

सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र विधाका विजेता पनि पाँच सय९५०००अमेरिकी डलर र ट्रफीले सम्मानीत हुनेछन् । एआई चलचित्र विधाका विजेता‘मञ्जुश्री अवार्ड’मार्फत् पाँच सय९५००० अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन् ।अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी पाउनेछन् ।

राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’मार्फत् पचास हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन्।त्यस्तै, राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेस्नल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन्।राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री ,पटकथा लेखक, छायाँकार चाहिँ ट्रफीले पुरस्कृत हुनेछन्।

Leave A Reply

Your email address will not be published.