काठमाडौं :
नेपाली फिल्म क्षेत्रका दुई चर्चित कलाकार निशा अधिकारी र रीमा विश्वकर्माले अब राजनीतिमा सक्रिय यात्रा सुरु गरेका छन्। अभिनेत्री निशा अधिकारी औपचारिक रूपमा गतिशील लोकतान्त्रिक पार्टी मार्फत राजनीतिमा प्रवेश गरेकी हुन् भने, अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य बनेकी छन्।
गत २४ कात्तिकमा गतिशील लोकतान्त्रिक पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सो दलको केन्द्रीय सदस्यका रूपमा निशा अधिकारीले जिम्मेवारी सम्हालेकी छन्।
करीब तीसभन्दा बढी चर्चित फिल्ममा अभिनय गरेकी निशाले यो नयाँ बाटोलाई आफ्नो जीवनको “दोस्रो इनिङ्स” भनेकी छिन्। राजनीति विज्ञानमा स्नातक र स्नातकोत्तर अध्ययन गरेकी उनले हाल ‘द्वन्द्व र शान्ति’ विषयमा एमफिल गरिरहेकी छन्।
सिनेमामा ‘मिसन पैसा’ बाट डेब्यू गरेकी उनले हालै अभिनेत्री रेखा थापासँग ‘३६ को आँकडा’ चलचित्रको छायांकन सकेकी छन् र अर्को फिल्म ‘कस्तुरी’ पनि साइन गरेकी छिन्।
उता, अभिनेत्री रीमा विश्वकर्मा भने कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य बनेकी छन्। पार्टीका ५१ सदस्यीय पदाधिकारी सूचीमा बर्दियाकी रीमाको नाम पनि समावेश छ। उनले बुधबार अपराह्न औपचारिक रूपमा हस्ताक्षर गरेकी छन्। यससँगै, नेपाली फिल्म क्षेत्रका दुई लोकप्रिय कलाकारले राजनीतिक रंगमञ्चमा नयाँ अध्याय सुरु गरेका छन्।