सुचना, समाचार र मनोरन्जन

निःशुल्क बिरुवा लैजान डिभिजन वन कार्यालय, तनहुँको आग्रह

तनहुँ,

डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ ।

मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, विरिस्फूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरङ्गेलगायत २८ प्रजातिका बिरुवा निःशुल्क लैजान आग्रह गरेको हो ।

वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निःशुल्क बिरुवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनुभयो ।

वर्षायाम वृक्षरोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामूदायिक वन उपभोक्ता समूह, विद्यालय, सङ्घसंस्था तथा स्थानीय तहलाई बिरुवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“वन क्षेत्र संरक्षण मात्र पर्याप्त हुँदैन, खुला तथा खाली जमिनमा समेत वृक्षारोपण आवश्यक छ,” श्रेष्ठले भन्नुभयो, “हामीले वितरण गर्ने बिरुवालाई सही तरिकाले रोपेर संरक्षण गर्न सकियो भने यसले वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पु¥याउँछ ।”

उहाँले वितरण गरिने बिरुवामध्ये केही प्रजाति फलफूल, केही औषधीय तथा केही छायाँ र वातावरणीय महत्वका रहेको जानकारी दिनुभयो ।

स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार बिरुवा छनोट गरेर रोप्न आग्रह गर्दै श्रेष्ठले बिरुवा रोपिसकेपछि त्यसको संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.