पोखरा/
ब्रह्माकुमारी इश्वरीय बिश्वविद्यालयको आयोजनामा श्रीमद्भागवत गीता ज्ञान महायज्ञ कार्यक्रम पोखराको लब्लीहिलमा आयोजना हुने भएको छ । फाल्गुण १ गते बिहीबारदेखि ५ गते सोमबारसम्मबिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ओम् शान्ति भवन, लभ्लीहिलमा कार्यक्रम आयोजना हुन लागेको हो ।
पछिल्लो समय धर्मग्लानि भैरहेकोमा अधर्मको विनाश र सत्य सनातन देवी देवता धर्मको स्थापनार्थ ज्योतिस्वरुप परमपिता परमात्माले सम्पूर्ण मानव आत्माहरुको मनरुपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्वको समाधान गरी पवित्रता, सुख, शान्ति र आनन्द प्राप्तिका लागि दिनुभएको सत्य ज्ञान नै वास्तवमा श्रीमद् भगवद् गीता ज्ञान हो । यसमा वर्तमान समयमा मानिसको व्यक्तिगत (मानसिक), पारिवारिक एवं व्यवसायिक जीवनमा आइपर्ने सर्वसमस्याहरुको समाधान छ । कर्मयोगको अद्वितीय कला सिकाउने यो शास्त्र सम्पूर्ण जाति, धर्म, वर्ग, पेशा र लिङ्गका मानवआत्माहरुको साझा, अनुकरणीय र दिव्य ज्ञानकोष हो । यसमा उल्लेख गरिएका परमात्माका महावाक्यहरु व्यावहारिक र वैज्ञानिक हुनाको कारणले मानव जीवनका हरेक पलहरुसँग यसको सान्दर्भिकता जोडिएको छ । यो शास्त्र नै एउटा यस्तो शास्त्र हो, जुन सबै धर्मका शास्त्रहरुको आधार हो । त्यसैले यसलाई सर्वशास्त्र शिरोमणि पनि भनिन्छ ।
पाँच दिवसीय सो कार्यक्रममा भागवत् वाचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले प्रवचन प्रदान गर्नुहुनेछ । उहाँ विगत ३० वर्षदेखि ईश्वरीय विश्व विद्यालयमा समर्पित सदस्यको रुपमा आवद्ध हुनुहुन्छ । साथै विगत २५ वर्षदेखि देश–विदेशमा विभिन्न वर्गहरुका लागि तनाव व्यवस्थापन, सकारात्मक चिन्तनको कला लगायतका दर्जनौं प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ । उहाँले भारतको अन्नमलाई विश्वविद्यालयबाट मूल्य शिक्षा एवं आध्यात्मिकतामा स्नात्तोकोत्तर डिग्री पनि हाँसिल गरिसक्नुभएको छ ।
गीताको यही महत्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको आध्यात्मिक रहस्योद्घाटन गरी पोखरा महानगरपालिका वडा नं १८ र ५ लगायत आसपासका क्षेत्रहरुमा बस्ने गर्नुहुने सम्पूर्ण मानवआत्माहरुलाई ज्ञान–योगले सिञ्चित गराउने उद्येश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

