सुचना, समाचार र मनोरन्जन

संविधानको स्थायित्वले मात्रै राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव छ : मुख्यमन्त्री पाण्डे

 

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा व्याख्या गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार पोखरामा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, सुशासन र पारदर्शितामा सरकार दृढ रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले विगत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका ‘जेनजी आन्दोलन’ लाई नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रकट गर्ने ऐतिहासिक घटनाका रूपमा स्मरण गरे । उनले सहादत प्राप्त गरेका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारलाई संवेदना प्रकट गरे । साथै, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित आन्दोलनमा घाइते भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्यायपूर्ण छानबिन र दोषीमाथि कारबाहीको माग प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

मुख्यमन्त्रीले जेनजी पुस्ताले उठाएका मागलाई साझा लक्ष्यका रूपमा स्वीकार गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर्न सरकार जिम्मेवार रहेको स्पष्ट पारे । तर उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै उपलब्धि माथि प्रहार गर्ने, विकासलाई ध्वंस पार्ने र नकारात्मक भाष्य निर्माण गर्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।

‘लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान सरकारको दायित्व हो । तर सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीलाई नियन्त्रण गर्दै शान्तिसुरक्षा कायम गर्नु पनि सरकारकै जिम्मेवारी हो,’ उनले भने ।
पाण्डेले गण्डकी प्रदेश सरकारले युवालाई लक्षित गर्दै राइड शेयरिङमार्फत रोजगारी सिर्जना, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत मितव्ययी शासन प्रणाली अंगिकार गर्ने कार्यलाई अघि बढाएको जानकारी दिए । यी सुधार प्रशासनिक मात्र नभई युवाको आशाविश्वास पूरा गर्न र प्रदेशको समुन्नतिको लागि समेत अपरिहार्य भएको उनको भनाइ थियो ।

संविधानलाई केवल कानुनी दस्तावेज नभई नागरिकका लागि न्याय र विधिको अक्सिजनका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्रीले यसको जगेर्ना, संवर्द्धन र कार्यान्वयन सबैको सामूहिक जिम्मेवारी भएको स्पष्ट पारे । संविधानले अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ । यसको स्थायित्व र कार्यान्वयनले मात्रै राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ, उनले भने ।

Pach Pandav

उनले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमार्फत रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण, भौतिक संरचनाको पुनर्निर्माण र सेवा प्रवाहमा सुधारलाई निरन्तर अघि बढाइने बताए । साथै, निजी क्षेत्रमाथि आक्रमणले सिर्जना गरेको वातावरणबारे चिन्ता व्यक्त गर्दै उनले दोषीमाथि कानूनी कारबाही र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।

समारोहमा उनले विगतका आन्दोलन र संघर्षबाट निर्माण भएको संविधानले जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधता बोकेको नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको स्मरण गराए । उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध रहेकोमा जोड दिए ।

मुख्यमन्त्रीले संविधान दिवसका अवसरमा मुलुकका ज्ञात–अज्ञात सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न आन्दोलनमा क्षति व्यहोरेका नागरिक समाज, राजनीतिक दलका नेता तथा सर्वसाधारणलाई उच्च सम्मानका साथ स्मरण गरे । उनले भने, ‘संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आधारशिला हो, जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ ।’

प्रदेश सरकारले सीमित साधन स्रोतका बाबजुद योजनाको सफल कार्यान्वयनमा ध्यान दिएको उनले बताए । पछिल्लो राजनीतिक घटनाक्रमपछि तत्काल सेवालाई सहज बनाउन मन्त्रालय, निकाय र कार्यालयमार्फत काम सुरु भएको र संघीय सरकारको नीतिअनुसार पुनर्निर्माण अघि बढाइने पनि उनले जानकारी दिए ।

पर्यटन राजधानीको रूपमा पोखरालाई अघि बढाउने दिर्घकालीन योजनामाथि आन्दोलनका कारण नकारात्मक असर परेको उनले बताए । निजी क्षेत्रमाथि आक्रमण भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार सक्रिय रहनेछ ।’

समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रतिको अभिभावकत्वको भूमिका प्रशंसा गर्दै आभार प्रकट गरे । अन्त्यमा उनले भने, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेश, खुसी प्रदेशवासीको संकल्प पुरा गर्न सबैले सहकार्य गर्नुपर्छ ।’

कार्यक्रममा सभामुख कृष्णप्रसाद धिताल, पूर्वमन्त्री एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सभाका विपक्षी दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतका वक्ताहरूले नेपालको संविधान २०७२ को ऐतिहासिक महत्व र कार्यान्वयनका चुनौतीबारे धारणा राखेका थिए । उच्च अदालत पोखराका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित विभिन्न मन्त्री, जनप्रतिनिधि, वरिष्ठ व्यक्तित्व र नागरिक समाजको उपस्थिति उल्लेख्य थियो ।

समारोहको अध्यक्षता मुख्यमन्त्री पाण्डेले गरेको कार्यक्रममा निमित्त प्रमुख सचिव रमेश ढकालले स्वागत मन्तव्य राखेका थिए भने प्रदेश सचिव ध्रुव गिरीले सञ्चालन गरेका थिए । राष्ट्रिय गान, सहिदप्रति मौन धारण र दीप प्रज्वलनपछि आरम्भ गरिएको कार्यक्रम कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मालेपाटनको सभाहलमा गरिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.