काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। यस फिल्मको सोमबार नै केही हलमा बुकिङ खुलेको थियो। तर बुधबार बिहानदेखि भने देशव्यापी रूपमा उत्साहजनक ढंगले बुकिङ खुला भएको छ।
देशभर अहिलेसम्म एक सयभन्दा बढी शो पाएको यस फिल्मलाई दर्शकको उत्साहलाई ध्यानमा राख्दै हल सञ्चालकहरूले उच्च शो दिएका हुन्। भोलिसम्ममा शो संख्या अझै बढ्ने देखिन्छ। १३५ मिनेट रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। ट्रेलर र गीतका कारण पनि फिल्मप्रति दर्शकको आकर्षण बढेको हो।
गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतले अभिनय गरेका छन्।
हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्। साथै, फिल्मको टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतका हुन्।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण नेपालभर आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको पछिल्लो समय निकै चर्चा छ। निर्माता सुशील पोखरेल आफ्नो फिल्म राम्रो बनेकोमा ढुक्क देखिएका छन्।