सुचना, समाचार र मनोरन्जन

‘परान’को कमाइ दह्रो, क्यूएफएक्सले झुण्ड्यायो सुपरहिटको ट्याग

काठमाडौँ :

कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ घरेलु बक्स अफिसमा सानदार कमाइ गर्दै अघि बढिरहेकाले क्यूएफएक्स सिनेमाजले यसलाई ‘सुपरहिट’को मान्यता दिएको छ। देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबार आफ्नो वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ ट्याग दिएको हो।

कम्पनीले पहिलो तीन दिनमा डेढ करोड रुपैयाँ व्यवसाय गर्ने फिल्मलाई ‘ब्लकबस्टर’ र सोही बराबरको कमाइ एक हप्ताभित्र भएमा ‘सुपरहिट’ घोषणा गर्ने मापदण्ड बनाएको छ। अहिलेसम्म कुनै पनि फिल्म ‘ब्लकबस्टर’को स्तरमा पुगेका छैनन्। ‘परान’ले क्यूएफएक्स चेनमै डेढ करोडभन्दा बढी कमाइ गरेपछि उक्त मान्यता पाएको देखिन्छ।

कार्तिक १४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको ‘परान’ले १६ दिनमा झन्डै १० करोड रुपैयाँ ग्रस कमाइसकेको छ। तेस्रो सातामा पनि आक्रामक व्यावसायिक गति कायम राखेपछि फिल्मले शनिबारसम्म साढे १२ करोड नाघ्ने अनुमान गरिएको छ। यस्तो भएमा ‘जेरी अन टप’द्वारा बनाइएको यस वर्षको सर्वाधिक कमाइको रेकर्ड तोडिने प्रक्षेपण छ।

बाबु–छोराको भावनात्मक कथामा आधारित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारको अभिनय छ। दीपक प्रसाद आचार्यद्वारा निर्देशित यो पहिलो फिल्म व्यावसायिक रूपमा सफल ठहरिएको छ।

Leave A Reply

Your email address will not be published.