मुम्बई :
बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुष्मिता सेनले बुधबार ५०औँ जन्मदिन मनाइरहँदा उनले आफ्नो व्यक्तिगत जीवन, विवाहप्रति दृष्टिकोण र स्वतन्त्रताका बारेमा दिएको अभिव्यक्ति पुनः चर्चामा आएको छ।
उमेरको पाँचौं दशकमा पुगिसक्दा पनि उनले जीवनलाई उही उत्साहका साथ अगाडि बढाइरहेकी छन्। सुष्मिताले हालै दिएको एक अन्तर्वार्तामा विवाह किन आफ्नो ‘गर्नुपर्ने सूची’ मा नरहेको र किन उनी एकल जीवन रोजिरहेकी छिन् भन्नेबारे स्पष्ट धार प्रस्तुत गरेकी छन्।
२४ वर्षको उमेरमै दुई छोरीलाई धर्मपुत्री बनाएर एकल आमा बन्ने निर्णय लिएकी सेनले पारिवारिक सन्तुष्टि आफ्ना बच्चाहरूबाट नै पाएको बताइरहेकी छन्। उनले सन् २००० मा रेनी र सन् २०१० मा अलिसालाई धर्मपुत्रीको रूपमा स्वीकार गरेकी थिइन्।
सन् २०२३ मा हेल्थ सट्ससँगको अन्तर्वार्तामा सेनले आफूलाई विवाहभन्दा बढी स्वतन्त्रता आवश्यक भएको उल्लेख गरेकी थिइन्। “म एक स्वतन्त्र व्यक्ति हुँ। म जे गर्छु, त्यो मेरो हृदयले भन्छ, कसैको अपेक्षा पूरा गर्न होइन,” उनले भनिन्।
अविवाहित रहने निर्णयबारे बोल्दै उनले भनेकी छन्, “म अविवाहित छु किनकि अहिलेसम्म यस्तो व्यक्ति भेटिन भनेको छैन, जससँग म आफ्नो जीवन बिताउन चाहूँ। प्रेमको कमी छैन, भारतीय संवेदनशीलता विवाहले मात्र पूरा हुन्छ भन्ने सोचसँग म सहमत छैन। मेरा दुई बच्चा छन्, जसले मेरो जीवन पूरा बनाइदिएका छन्।”
उनका अनुसार आफ्नै शर्तमा जीवन बिताउने कुरा कुनै योजनाबद्ध निर्णय होइन, तर समयसँगै आफूले आफैलाई बुझ्दै आएको प्रक्रिया हो। “सबैको कुरा सुन्छु, तर गर्छु भने मनले चाहेको मात्र। त्यसैले म आफ्नै शर्तमा जीवन बिताउन सक्षम भएको हुँ,” उनले बताइन्।