सुचना, समाचार र मनोरन्जन
Pdms

‘पार्वती’का दुई पोस्टरमा निताको यस्तो लुक्स, माघ १ मा प्रदर्शन हुने

काठमाडौं :

रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति रहने नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक गरिएको छ। अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा तयार हुन लागेको यस फिल्मको प्रदर्शन मिति घोषणा गर्दै दुई पोस्टर सार्वजनिक गरिएको हो। निर्माण पक्षले फिल्म माघ १ गते देशभर प्रदर्शनमा ल्याउने तयारी गरेको जनाएको छ।

सार्वजनिक गरिएको पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्। यस दृश्यले उनको जीवनमा आइपर्ने चुनौती, सोचमग्न स्वभाव र भित्र लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अन्दाजमा प्रस्तुत भएकी छन्, जसले उनको बालपन, निराशा र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।

चलचित्रको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्मको निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्।

निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास, र संघर्षका भाव दर्शाइनेछन्।

आगामी असोज महिनाबाट छायांकनमा निस्कन लागेको फिल्मको सम्पूर्ण कलाकार तथा प्राविधिक टिमको जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्देशक अधिकारीका अनुसार, केही दिनमै कलाकार तथा थप प्राविधिकहरूको टिम सार्वजनिक गरिनेछ। उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् भने उपत्यका बाहिर एफडी कम्पनी रहनेछ।

Leave A Reply

Your email address will not be published.