सुचना, समाचार र मनोरन्जन

पार्वती फिल्मको गीतमा आकर्षक टिकटक बनाउनेलाई ५० हजार नगद पुरस्कार घोषणा

काठमाडौं :

नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।  प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।

जसअनुसार प्रथम पुरस्कार रु ५०,०००, दोस्रो पुरस्कार रु ३०,००० र तेस्रो पुरस्कार रु २०,००० रहेको छ। साथै ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा  क्याप्सनमा ह्यासट्याग  पार्वती ह्यासट्याग भाद्र१२ ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्ने छ । उत्कृष्ट भिडियो र प्राप्त भ्युज का आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्। उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ।

अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। नीताका साथमा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ।निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजररट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.