काठमाडौं :
अभिनेत्री वर्षा राउत फिल्म ‘महाराजधिराज’मा अनुबन्ध भएकी छन्। उनलाई निर्माण पक्षले आइतबार फिल्मका लागि अनुबन्ध गरेको हो। स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको निर्माण पक्षले जानकारी दिएको छ। हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ। यसअघि ‘महाराजधिराज’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भइसकेकी छन्।
त्यस्तै अभिनेताका रुपमा यसअघि निर्माण पक्षले आर्यन सिक्देल, रमेश उप्रेती,पल शाह,जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन्। परिच्छेद सेनले निर्देशनमा बन्न लागेको यस फिल्मको निर्माण पक्षले पोस्टर समेत रिलिज गरेको छ। प्रमोसनका रुपमा पोस्टर रिलिज गर्दै फिल्मलाई आगामी दसैंको फूलपातीमा प्रदर्शन गर्ने जानकारी दिएको छ। फिल्ममानिर्देशक सेन स्वयंको लेखन रहेको छ भने उनको यो दोस्रो निर्देशकिय फिल्म हो। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्म को निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।