काठमाडौं :
आगामी कार्तिक १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘परिवार’को दशैं लक्षित गीत ‘रातो टिका’ सार्वजनिक गरिएको छ।
बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको उक्त डान्सिङ नम्बरमा गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन्। स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ स्वयं बाबुल गिरीले नै गरेका हुन्।
दशैंमा टिका लगाएपछिको रमाइलो र उल्लासमय वातावरणलाई चित्रण गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना र विनिता बस्नेत लगायतको अभिनय तथा नृत्य देख्न सकिन्छ। गाउँले परिवेश, लिङ्गे पिङ, चिटिक्क सजाइएका घर र सफा आँगनले भिडियोलाई आकर्षक बनाएको छ। गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

‘रे अफ आर्ट प्रालि’को ब्यानरमा निर्माण भएको यस फिल्मको यसअघि सार्वजनिक फस्टलुक र टिजरलाई दर्शकले रुचाएका थिए। फस्टलुक र टिजरझैँ यो दशैं गीतलाई पनि दर्शकले उत्तिकै माया दिनेमा निर्माण पक्ष विश्वस्त छ।
‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने मुख्य नारा बोकेको यो चलचित्रलाई मदन थापाले निर्देशन गरेका हुन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसको सहकार्यमा बनेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतको अभिनय छ।
रमेश शाही निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता कैलाश रावल र सह-निर्माता आरम्भ रिजाल हुन्। प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ।