काठमाडौं :
तनाव र निराशाका बीच दर्शकलाई हँसाउने तथा मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र ‘चमेलीको पोइ’ आज (असोज १६ गते) देखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र प्रेम, दाम्पत्य जीवनका उतारचढाव, पारिवारिक सम्बन्ध र हास्यरसलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। प्रदर्शनअघि नै चलचित्रका पोस्टर, ट्रेलर र गीतहरूले दर्शकको ध्यानाकर्षण गरिसकेका छन्। विशेषगरी चलचित्रको ‘माया मान्छौ र…’ गीतले युट्युबमा ३४ लाखभन्दा बढी भ्युज पाउनुका साथै टिकटकमा समेत व्यापक चर्चा कमाएको छ। त्यस्तै, शीर्ष गीत ‘ओइ ओइ चमेली’ ले पनि १८ लाखभन्दा बढी भ्युज पाइसकेको छ।
१८ वर्षपछि ‘प्रेमचरो’को पुनरागमन

यस चलचित्रको मुख्य आकर्षणका रूपमा वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’ रहेका छन्। करिब १८ वर्षपछि ठूलो पर्दामा पुनरागमन गरेका त्रिपाठीले लामो समय अमेरिकामा बिताएपछि नेपाली चलचित्रमा फर्किंदा खुसी व्यक्त गरेका छन्। नेपालमा रिलिज हुनुअघि अमेरिकाका विभिन्न राज्यमा गरिएका विशेष प्रदर्शनहरूबाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएकाले आफू थप उत्साहित भएको उनले बताए।
कलाकार तथा निर्माण टोली
चलचित्रमा नारायण त्रिपाठीका साथै सुरक्षा पन्त र मुकुन भुसालको मुख्य भूमिका रहेको छ। साथमा विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई (‘फुलन्देकी आमा’), प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
‘धनलक्ष्मी सिने मेकर्स’को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् भने कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्। निर्देशक बोहरालाई लेखनमा शिवम अधिकारीले साथ दिएका छन्। चलचित्रमा शेरबहादुर तामाङको छायांकन, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गरेको हो।