सुचना, समाचार र मनोरन्जन

गण्डकीको समुन्नतिको लागि पर्यटन र प्रविधि

‘काम गर्नकै लागि विदेशीहरु पोखरा आउँछन्’

पोखरा/

पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति पर्यटन र प्रविधि’विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा,गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्लोलोजी (जिपास्ट)का पूर्वकार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी तथा बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेल वक्ताको रुपमा सहभागी थिए । १२ औं क्यान इन्फोटेकअन्तर्गत आयोजित सो कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए।
कार्यक्रममा पर्यटन उद्योगलाई कसरी सूचना प्रविधिसँग जोड्ने तथा त्यसमा अहिले भइरहेका पहल के छन् भन्नेबारे बढी चर्चा भएको थियो । सो उपक्रममा तीनैजना वक्ताले पर्यटन उद्योगमा सूचना र प्रविधिको प्रयोग अपरिहार्य रहेकोमा सहमति जनाए । उनीहरुले पर्यटकीय राजधानी घोषणा भएको पोखराले प्रविधिको प्रयोगमा बढावा दिनुपर्ने र त्यसको लागि राज्यले सहजीकरण गर्नुपर्ने सुझाव पनि दिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भनेर अध्ययन कार्यदलको संयोजकसमेत रहेका उपाध्यक्ष देवकोटाले आफूले तयार पारेको सुझाव प्रतिवेदनमा टेकेर अगाडि बढे स्वतः पर्यटनमा सूचना प्रविधिको प्रयोग हुने धारणा राखे । उनले सडक राज्यले बनाइदिने अनि ब्राण्डिङ तथा पर्यटन उद्योगमा लगानी चाहिँ निजी क्षेत्रले नै गर्नुपर्ने पनि बताए ।
गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्लोलोजी (जिपास्ट)का पूर्वकार्यकारी निर्देशक डा.ढाकाराम भण्डारीले सूचना प्रविधिको प्रयोगले रोजगारी घटाउने सम्भावना रहे पनि प्रयोग चाहिँ गर्नैपर्ने बताए । बरु त्यो प्रविधि नेपालकै प्रयोग गर्ने कि विदेशबाट आयात गर्ने भन्नेतर्फ राज्यले सोच्नुपर्ने उनको धारणा थियो ।
बाराही हस्पिटालिटी प्रालिका अध्यक्ष हरिप्रसाद पौडेलले देशका विभिन्न भागमा रहेका होटलहरुको रेखदेख नै आफूले प्रविधिमाफर्त् गरिरहेको बताउँदै पर्यटन उद्योगमा प्रविधि अपरिहार्य रहेको बताए ।
उनले सूचना प्रविधिका कारण विदेशको काम पनि नेपालबाटै गर्न सकिने अवस्था आए पनि इन्टरनेट र विद्युत नहुँदा समस्या पर्ने गरेको सुनाए ।


‘यहाँ त्यस्ता पर्यटक धेरै आउँछन् । यहाँ बसेर अमेरिकाको काम गर्छन् । ६÷७ महिनाको भिसा लिएर आउँछन् । उनीहरुलाई यहाँको बसाइ सस्तो पर्छ । कम्प्यूटरमा काम गर्छन् । तर, उनीहरु काम गर्दै गरेका हुन्छन्, त्यही बेला बत्ति जान्छ, इन्टरनेट गइदिन्छ । त्यसपछि थुक्क भन्छन्,’उनले भने ।

डा.कृष्णचन्द्र देवकोटा

सूचना प्रविधिको क्षेत्रमा नेपाल कतियौँ शताब्दीमा छ ?
मैले सन् २००६ मा जुन प्रविधि मैले दक्षिण कोरियामा प्रयोग गरेँ,त्यो अहिले पनि यहाँ छैन । नेपालमा सरकारी–गैर सरकारी क्षेत्रमा सूचना प्रविधिको प्रयोग हे¥यौँ भने हामी धेरै पछि छौँ । हामीकहाँ पनि बिस्तारै बढ्दै गएको देखिन्छ तर जुन गतिमा हुनुपथ्र्यो,त्यो भएको छैन ।
खै सरकारले प्रोत्साहन गरेको ? खै विद्यार्थीलाई रोकेको ?
प्राप्त सुविधाको कति उपयोग कतिजनाले गरेका छन् भन्ने मुख्य कुरा हो । नेपालका ९० प्रतिशत मानिससँग मोवाइल छ तर कति जनाले त्यसमा भएका सबै फिचरको उपयोग गर्नुभएको छ त ? छैन।
बाहिर गएर पढ्छु भन्नेलाई रोक्न सकिएन । बाहिर जाने संस्कृति विकास भयो । यहाँ नै त्यस्तै गुणस्तरको पढाइ हुँदाहुँदै पनि विकल्प खोज्दै बाहिर जाने उपक्रम बढेको छ । रोक्नको लागि सरकारले नीतिगत निर्णय गर्नुपर्छ ।
त्यो नीति र योजना कहिले तर्जुमा हुन्छ ?
रोक्न नसकेको साँचो हो । सरकारी निकायमा सूचना प्रविधि क्षेत्रमा मान्छे कम छन् । अनि बढुवा हुँदा पनि समस्या छ । यद्यपि,आइटी क्षेत्रमा बाहिरको काम गर्नेहरु बढेका छन् । यसले अर्थतन्त्रमा पनि योगदान दिएको छ । उनीहरुलाई यहीँ राख्नको लागि,काम गर्ने वातावरण बनाउनेतर्फ संघीय र प्रदेश सरकारले पनि काम गरेको छ । ‘डिजिटल गण्डकी’ नारा अहिले पनि कार्यान्वयनमा छ । तर, प्रदेशले सबै काम गर्न सक्दैन । आर्थिक गतिविधिमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गण्डकी सरकारको नीति छ । निजी क्षेत्रले नै सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने काम भइरहेको छ ।
गण्डकी विश्वविद्यालयलाई किन उत्कृष्ट बनाउन सकिएन ? किन विद्यार्थीले विश्वास गरेनन् ?
नयाँ पनि भयो । जनशक्ति पनि भनेकोजस्तो व्यवस्था गर्न सकिएन । त्यसले गर्दा प्रविधिको पढाइ कमजोर बन्यो तर विश्वविद्यालयले आफ्नो गतिले काम गर्दैछ । गण्डकी विश्वविद्यालय सरकार मातहत हैन कि आफै स्वतन्त्र छ । त्यहाँ गतिलो प्लानिङ हुनुपथ्र्यो तर भएको छैन । गण्डकी प्रदेश सरकारले वर्षेनी पैसा दिन्छ तर योजनामा सरकार आफैं संलग्न हुँदैन । स्वायत्तता भएको संस्थाले आफै योजना बनाउनुपथ्र्यो तर त्यस्तो भएको छैन । म सन्तुष्ट छैन । समाजले आवश्यकतावोध गरेको विषय पढाउन नसक्नु भनेको त त्यहाँको व्यवस्थापनकै कमजोरी हो । हामीले जसरी विश्वविद्यालय बनायौँ,त्यसमा पनि सोच्ने हो कि भन्ने मेरो कुरा हो ।
डा.ढाकाराम भण्डारी

सरकारी संयन्त्रमा पछाडि छौँ तर निजी क्षेत्रमा चाहिँ अगाडी बढेको छ । अहिले विदेशमा जुन मोवाइल पाइन्छ,त्यो नेपालमा आइपुगेको छ । अहिले च्याट जिपिटीदेखि सबै कुरा हामीले यहाँ उपयोग गरिरहेका छौँ । जापानमा जति मान्छेले मोवाइल फोन बोकेका छन्, हामीमा पनि त्यतिले नै बोकेका छन् । इन्टरनेटको पहुँच पु¥याउनुपर्ने छ । हामीले अहिले सानो पसलमा गएर क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्छौँ । गर्नुपर्ने धेरै छ । सरकारी संयन्त्रमा चाहिँ कायापलट नै गर्नुपर्ने छ ।
जिपास्टमा ४ वर्ष बिताउनुभयो तर एउटा पनि आइटी अफिसर राख्नुभएन ?
निजामतीबाट पाइएन । सरकारको दरबन्दी नै कम भएर हाम्रोमा नपुगेको हुनुपर्छ । हाम्रो राज्य संचालनमा इ–गभर्नेन्स र सूचना प्रविधि मैत्री छैन । हामीले सरकारबाट डोमेन किन्छौँ तर त्यसको सर्टीफिकेट छैन । विज्ञान र प्रविधि हेर्ने मन्त्रालयमा त्यो पढेको मान्छेको दरबन्दी नै छैन । त्यो दरबन्दी सिर्जना गर्नुप¥यो नि ।
रिसर्च गर्ने हैन कि नेताको चाकडी गर्नेले पद पाउँछन् हो ?
कार्यकारी निर्देशकको लागि मैले विदेशबाट नै आवेदन दिएको हो । म विदेश लामो बसेको,पार्टीको चिनिएको मान्छे थिइन । राजनीतिक नियुक्तिलाई पार्टीको नियुक्ति सोच्यौँ नि । सरकार चलाउने बेला चाहिने मान्छे नियुक्ति गर्ने हो । मेरो ४ वर्षको अवधिमा कर्मचारीदेखि भवनसम्म दिनुपथ्र्यो । प्रदेश सरकारले मलाई जति स्रोत र साधन दियो,त्यसबाट मैले ठूलो काम गरेँ । विद्यार्थीलाई थेसिसमा अनुदान दियौँ । प्रयोगशाला खोलेका हौँ । अनुसन्धानको लागि त्यो सबैभन्दा राम्रो हो ।
अनुसन्धान गर्नेहरुलाई पर्यटकको रुपमा यहाँ ल्याउन सकिँदैन ?
विज्ञान र प्रविधिमा प्रदेश सरकारले ध्यान नै दिएन । प्रदेश सरकारले बनाएको बजेटमा कस्ता कार्यक्रम राख्ने, कति पैसा विज्ञान र प्रविधिमा खर्चने भन्नेतिर ध्यान गएन ।
मान्छे अनुसन्धानको लागि आउने भनेको सहरमा हैन नि । ऊ त रिसर्च सेण्टरमा आउने होला नि । यहाँ कहाँ आएर कोही जोडिने त ? मास्टर र पिएचडी फिस लिएर चल्दैन । संसारभर अनुसन्धानका डिग्रीहरु फेलोसिप दिएर चल्छ । हाम्रोमा त्यस्तो छैन ।
हरिप्रसाद पौडेल
अहिलेको जमानामा एउटा स्टार होटलले प्रविधि प्रयोग नगर्ने हो भने चल्दै चल्दैन । त्यति हुँदा पनि हामीले त्यस्तो सुविधा पाएका छैनौँ । प्रविधिको द्रूत गतिको जुन विकास छ, मैले साह्रै छिटो भएको पाएको छु । म दंग खाएको छु । प्रविधिको प्रयोगमा हामी पनि अगाडी नै छौँ । संसारमा जे प्रविधि आइरहेको छ, त्यसको उपयोग गर्न पाइएको छ । उपयोग युवा र बुढाबुढीले गरेका छन् । जसले गर्नुपर्ने हो,त्यो उपयोग गर्ने युवाहरु छैनन् । मेरो त उमेरले नदिँदो रहेछ । अहिले तपाईं यहाँ बस्नुहोस् वा अमेरिका बस्नुहोस्,केही फरक छैन । यहाँ त्यस्ता पर्यटक धेरै आउँछन् । यहाँ बसेर अमेरिकाको काम गर्छन् । ६÷७ महिनाको भिसा लिएर आउँछन् । उनीहरुलाई यहाँको बसाइ सस्तो पर्छ । कम्प्यूटरमा काम गर्छन् । तर, उनीहरु काम गर्दै गरेका हुन्छन्, त्यही बेला बत्ति जान्छ, इन्टरनेट गइदिन्छ । त्यसपछि थुक्क भन्छन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणापछि केही फरक भएको छ ?
हामीले ठूलो तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरियो । त्यो घोषणा गर्ने भनेर जुलुसमा हिँड्दा मेरी श्रीमतीको खुट्टा भाँच्चियो । पर्यटनलाई पनि उद्योग सरह सुविधा दिने भन्ने हाम्रो दशकदेखिको माग हो तर अहिलेसम्म भएको छैन । सबै काम घोषणामा गरेका छौँ तर उपलब्धि चाहिँ देखिएको छैन ।
पर्यटन व्यवसायीले कर तिर्दैनन् हो ? पारदर्शी छैनन् हो ?
प्रविधिलाई ढाँट्न सकिँदैन । सबैको त मैले ग्यारेण्टी लिन सक्दिन । तर, अहिले सिस्टममा जानुपर्छ । होटलमा कतिजना आए,कति दिन बस्ने, उसको सम्पर्क नम्बर, देश लेखेपछि हामी सिस्टममा इन्ट्री गर्छौँ । त्यस्तोमा ढाँट्न मिल्दैन । कसैले ग¥यो भने जरिबाना तिर्नुपर्छ । मेरो काठमाडौं र अन्य ठाउँमा पनि होटल छ । म वा मेरा छोराहरु त्यहाँ जाँदैनन् । कसले कस्तो काम गरे भनेर पनि हेर्दिन । म प्रविधिको माध्यमबाट यतिवटा कोठा गएछन्,यति खर्च भएछ र यति भ्याट तिरिएछ भनेर हेर्छु । सूचना प्रविधिमा विश्वास गर्ने हो ।

सो सत्रमा उपस्थित अतिथिलाई क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले धन्यवाद ज्ञापन र सचिव दामोदर डुम्रेले स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.