सुचना, समाचार र मनोरन्जन

पल शाहको सक्रिय प्रचारसँगै ‘आ बाट आमा’को नेवारी गीत सार्वजनिक

काठमाडौँ :

अभिनेता पल शाह अभिनीत फिल्म ‘आ बाट आमा’ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको प्रचारलाई तीव्र बनाउँदै निर्माण टिमले चर्चित गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सन सार्वजनिक गरेको छ। बिहीबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतले सार्वजनिक हुनासाथ दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।

नेवारी भर्सनमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ। यसअघि रवि ओडले गाएको ओरिजिनल संस्करण दर्शकमाझ अत्यधिक लोकप्रिय बनेपछि नेवारी भाषामा पनि गीत तयार गरिएको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतलाई नेवारी भाषामा मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।

फिल्मको प्रचारप्रसारमा व्यस्त अभिनेता पल शाह यतिबेला विपना थापासहित विभिन्न कार्यक्रम र गतिविधिमा सहभागी हुँदै आएका छन्। निर्माण टिमका अनुसार पल शाहको उपस्थितिले फिल्मप्रति दर्शकको चासो थप बढेको छ।

निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीका साथै नेवारी भाषाको गीत समावेश गरिएको उल्लेख गर्दै श्रोता–दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले आगामी दिनमा अन्य भाषामा पनि गीत रेकर्ड गर्ने योजना रहेको जानकारी दिए।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आ बाट आमा’मा पल शाह र विपना थापासँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ।

फिल्मको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

Leave A Reply

Your email address will not be published.