सुचना, समाचार र मनोरन्जन

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक, देशव्यापी प्रमोशनल टुर घोषणा

काठमाडौं :

आगामी माघ २३ गते रिलिज हुने फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर आयोजना हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले फिल्मका गीतहरूमा लाइभ प्रस्तुति दिँदै ट्रेलर सार्वजनिक गरेका हुन्।

बिग मार्टको प्रस्तुतिमा तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यो एकीकृत प्रमोशनल टुर देशव्यापी रूपमा सञ्चालन गरिनेछ। टुरमा ब्यान्डसहित फिल्मका प्रमुख कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउत सहभागी हुनेछन्।

फिल्म ‘कुमारी’को साङ्गीतिक आत्माका रूपमा परिचित ‘केहर एन्ड द लुङा’लाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। तय कार्यक्रमअनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट हुनेछ। आयोजकका अनुसार काठमाडौंको कन्सर्टमै फिल्म ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिनेछ।

हाल फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ दर्शकमाझ चर्चित बनेको छ। उक्त गीतमा केहर सिंह लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बुको संगीत रहेको छ। बिहीबारको कार्यक्रममा केहरले ‘डोको बुन्ने निगालो चोयाले’ र फिल्मकै अर्को गीत ‘कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए।

फिल्म ‘कुमारी’लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत फिल्म र सङ्गीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको निर्देशक दिनेश राउतले बताए। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी रहेका छन्।

Leave A Reply

Your email address will not be published.