काठमाडौं :
लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’।
माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले उठाउन खोजेको विषयबारे चासो बढाएको छ। सिटी सेन्टरस्थित विग मुभिजमा मंगलवार सार्वजनिक गरिएको ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ। 
परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रले केवल एउटा व्यक्तिको खोजी गर्दैन, बरु लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्दै जान्छ। पेन्सनको अधिकारसँगै जोडिएको यो खोजी फिल्ममा पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग जोडिएको देखिन्छ।
