पोखरा :
“जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ आयोजित पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ लाई पोखराको नयाँ पहिचानका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन्।
शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा सम्पन्न समीक्षा, शुभकामना तथा मैत्रीपूर्ण फुटबल कार्यक्रमका वक्ताहरूले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले सिर्जनशील कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै आफ्नो वडाको पहिचान झल्किने हरेक कार्यक्रममा साथ र सहयोग रहने प्रतिबद्धता जनाए। उनले प्रतियोगिताको निरन्तरताका लागि आगामी आर्थिक वर्षको बजेटमा पाँच लाख रुपैयाँ विनियोजन गरिने जानकारी दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सञ्चार गृहबाट यस्तो इभेन्ट आयोजना हुनु सकारात्मक भएको उल्लेख गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए। जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक क्षत्रीले प्रतियोगिता पोखराका लागि नयाँ सम्भावना बोकेको इभेन्ट भएको धारणा राखे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी समयमै व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए। सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले सहकार्यमा आयोजित मैत्रीपूर्ण फुटबल खेलले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुगेको बताए। सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले यस्ता महत्वपूर्ण इभेन्टबारे जानकारी अभाव हुनु दुःखद भएको बताउँदै यसलाई पोखराको “ड्रिम प्रोजेक्ट” का रूपमा अघि बढाउन आग्रह गरे। प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङका अनुसार नेपालसहित पाँच देशका १४५ धावक सहभागी भएका थिए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले समापन कार्यक्रम छरितो बनाउन र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी संस्करणलाई अझ परिस्कृत बनाइने बताए। ५ किलोमिटर दूरीको उक्त दौड बाराहीघाटबाट सुरु भई महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा पुगेर समापन भएको थियो। यसैबीच, कार्यक्रमसँगै सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सहारा क्लबले पोखरा क्लिकलाई ६–४ गोल अन्तरले पराजित गरेको थियो।