पोखरा,
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न संस्था तथा व्यावसायिक प्रतिष्ठानले ४१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
विपद्को समयमा सामाजिक तथा मानवीय उत्तरदायित्व निर्वाह गर्दै Bulls India र अटोवेज प्रालि परिवारले २५ लाख रुपैयाँ, प्रतिभा माध्यमिक विद्यालय पोखराले संस्थागत दायित्व तथा शिक्षक–कर्मचारीबाट ११ लाख ११ हजार १११ रुपैयाँ र गोविन्द–कलावती फाउन्डेसनले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।
सहयोगी संस्थाहरूले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ र प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनाको कामना गरेका छन्।
“देश दुखेको बेला पीडितको दुःखमा साथ दिनु केवल सहयोग होइन, हाम्रो मानवीय कर्तव्य र सामाजिक जिम्मेवारी पनि हो,” सहयोगी संस्थाहरूले भनेका छन्।
विपद्को सामना सरकारको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनीहरूले निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकलाई उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट हुनसमेत आह्वान गरेका छन्।
घोषित सहयोग तत्कालीन राहतमा मात्र सीमित नरहने जनाइएको छ। बाढीबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण तथा प्रभावित बालबालिकाको शैक्षिक वातावरण पुनःस्थापित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता पनि सहयोगी संस्थाहरूले व्यक्त गरेका छन्।
“विपद्को यस घडीमा हामी एक्लै छैनौँ, हामी सबै साथमा छौँ” भन्ने सन्देशसहित गरिएको सहयोगले संकटका बेला निजी तथा शैक्षिक क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय एकताको उदाहरण प्रस्तुत गरेको छ।