पोखरा,
बुटिक व्यवसायीको साझा संस्था बुटिक एसोसियसन पोखरा नेपालले यस वर्ष ‘पोखरा डिजाइनर्स फेसन विक–२०२५’ मा १५ डिजाइनर्सलाई प्रस्तुत गर्ने भएको छ । साउन ३० गते पोखरामा हुने फेसन विकमा ‘सो स्टपर’का रूपमा अभिनेत्री करिश्मा मानन्धरसहितका कलाकार तथा मोडल सहभागी हुनेछन्।
फेसन विकमा सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, इन्दिरा लामिछाने, सोयत्ता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीस मगर, रेनु सुब्बा, रिना श्रेष्ठ, सिर्जना श्रेष्ठ, अस्मि गुरुङ, शोभा गुरुङ, मञ्जु क्षत्री र कल्पना गुरुङले आफ्ना डिजाइन प्रस्तुत गर्नेछन् ।
सो स्टपरका रुपमा करिश्मा मानन्धरसहित कलाकार अञ्जना बराइली, सनिशा भट्टराई, प्रिन्स सिंह, मोडल कृशल श्रेष्ठ, पूर्व मिस नेपाल इन्टरनेसनल २०१२ सुभेक्षा खड्का, मिस नेपाल २०१९ मीरा कक्षपति र मिस दार्जिलिङ २०२३ प्रेरणा लामा सहभागी हुनेछन् ।
संस्थाकी सचिव कमला गुरुङका अनुसार फेसन विकमा पोखरा र वरपर रहेका बुटिक व्यवसायीले तयार गरेका परम्परागत, आधुनिक तथा सांस्कृतिक डिजाइन प्रस्तुत गरिनेछन् । उनले भनिन्, ‘हामी यसपटक पोखरामा फरक शैलीको फेसन विक ल्याउँदैछौं, जसले नेपाली पहिरन र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनेछ ।’
संस्थाकी अध्यक्ष इन्दिरा लामिछानेले फेसन विकको मुख्य उद्देश्य सिर्जनशीलता प्रदर्शन, फेसन उद्योगको प्रवर्द्धन, सञ्जाल र बजार विस्तार रहेको बताइन् । ‘यो कार्यक्रम डिजाइनर, मोडल र फेसन व्यवसायीका लागि नयाँ अवसर र सहकार्यको मञ्च हुनेछ,’ उनले भनिन्, ‘नेपाली फेसन उद्योगलाई सशक्त बनाउन यो कदम महत्त्वपूर्ण हुनेछ ।’ फेसन विकमा सहभागी हुन अमेरिकामा रहेका दुई नेपाली मोडल पनि पोखरा आइपुगेका छन् ।
२०७४ मा स्थापित उक्त संस्थाले व्यवसायीको हकहित संरक्षणसँगै नेपाली फेसन उद्योगको प्रवर्द्धनका लागि काम गर्दै आएको छ । हाल संस्थामा ३० भन्दा बढी आजीवन र ३५ भन्दा बढी साधारण सदस्य छन् । कोभिड–१९ महामारीको आर्थिक असरमा परेका व्यवसायीलाई सहयोग गर्दै आएको संस्थाले पछिल्ला वर्षमा डिजाइनर, दर्जी, मोडल र कारिगरका लागि सीपमूलक तालिम सञ्चालन गरी रोजगारी सिर्जना गरेको संस्थाकी पूर्वअध्यक्ष शान्ति श्रीस मगरले बताइन् ।
