सुचना, समाचार र मनोरन्जन

सोनाको आयोजनामा पोखरामा खुला वास्तुकला प्रदर्शनी

सन्तोष बस्याल
पोखरा ।

नेपालमा आर्किटेक्चर भनेको घरको नक्सा डिजाइन मात्र गर्ने भन्ने सोच छ । तर यो वृहत क्षेत्र हो । यसमा कला र विज्ञान दुवै समावेश भएको पाइन्छ । जसलाई चिर्नका लागि पनि वास्तुकला प्रदर्शनी हुँदै आएको छ । पोखरामा शनिबार सोसाइटी अफ नेप्लीज आर्टिटेक (सोना) गण्डकी च्याप्टरको आयोजनामा एक दिने वास्तुकला प्रदर्शनी भएको छ ।

पृथ्वीचोकमा भएको प्रदर्शनीमा आर्किटेक्ट पढेका विद्यार्थीहरुले अवलोकन गरेका छन् । आम सर्वसाधारणलाई बुझाउने गरी प्रदर्शन गरिएको सोना गण्डकी च्याप्टेरका अध्यक्ष बाबुराम बरालले जानकारी गराए । सहरी विकास र घरहरुको विषयमा सबै खालको जानकारी होस् भन्ने उद्देश्य स्वरुप वास्तुकला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको उनले सुनाए ।

‘राम्रो घरहरु कसरी बनाउने ? शहरलाई उपयुक्त शहर कसरी बनाउने ? भन्ने विषयमा ज्ञान बाढ्न कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने, ‘जसमा नेपालका आर्किटेक्ट इन्जिनियरहरुले डिजाइन गरेका संरचनाका विषयमा बुझाउन खोजिएको छ ।’

बरालका अनुसार पोखरामा बनेका घरहरु आफ्नै तरिकाले बनेका छन् । आर्किटेक्ट इन्जिनियरको परामर्श बिना नै घरहरु बन्दा पोखराका घरमा सुन्दरता हराएको छ । पोखराको माटो सुहाउँदो घर निर्माण नभएको भनाई उनको छ । प्राविधिक हिसाबले माटो सुहाउँदो घर बनाउनु पर्छ भन्ने जानकारी गराउने हेतुले वास्तुकला प्रदर्शनीको आयोजना गरिएको उनले उल्लेख गरे ।

दिउँसो नै बत्ती बाल्नुपर्ने घरहरु पोखरामा निर्माण भइरहेको बरालको भनाई छ । पोखरामा जति घर बनिरहेका छन् बस्नका लागि कम उपयुक्त घर बनेको उनले बताए । प्रदर्शनीमा विद्यार्थीले विभिन्न संरचनाको डिजाइन तयार गरेका छन् । उनीहरुले शहरमा प्रवेश गर्ने प्रवेशद्वार, पुल, विभिन्न टावर, रंगशाला, घर र बाँसबाट बनेका संरचना बनाएर राखेका छन् ।

नेपालमा अहिले आर्किटेक्चर भनेको नक्सा डिजाइन मात्र सोच्ने गरिएकाले यसलाई चिर्न पनि प्रदर्शनीको आयोजना गरिएको उनले बताए । पर्यावरणीय सन्तुलनलाई आधार बनाएर बाँसजन्य संरचनाको प्रयोग गरी संरचना निर्माण गर्नुपर्ने विषयलाई जानकारी गराउने उद्देश्यले समेत प्रदर्शन गरिएको हो ।आर्किटेक्चरको क्षेत्रमा नेपालको हालको अवस्था राम्रो रहेका कारण अवसर पाए विदेशीले जत्तिकै नेपालका इन्जिनियरले पनि आर्किटेक्चर डिजाइन गर्न सक्ने बराल बताउँछन् ।

सोना गण्डकी च्याप्टरका अध्यक्ष बाबुराम बराल

प्रदर्शनी अवलोकनका लागि काठमाडौंको हिमालय कलेज अफ इन्जिनियरिङबाट आएकी विद्यार्थी नीतिका भट्टराईले वास्तुकला प्रदर्शनीबाट नयाँ नयाँ विषयका बारेमा अध्ययन गर्ने अवसर मिलेको उल्लेख गरिन् । आफुले पढिरहेको विषय भएकाले पनि डिटेलमा बुझ्न पाइएको उनले बताइन् ।

समिक्षा कँडेल (विभागीय प्रमुख, आर्किटेक्चर डिपार्टमेन्ट पोखरा इन्जिनियरिङ्ग कलेज)

पोखरा इन्जिनियरिङ कलेजमा आर्किटेक्ट विषय पढाउँदै आएकी समिक्षा कँडेलले पोखरा सुन्दर शहर भएता पनि घर निर्माण गर्दा डिजाइन गर्नुपर्छ भन्ने विषय यहाँका नागरिकले नबुझेको बताइन् । त्यसैले पनि पब्लिकलाई समेत आर्किटेक्चरका विषयमा बुझाउन वास्तुकला प्रदर्शनीको आयोजना गरिएको उनले उल्लेख गरिन् ।

‘पोखरामा भएको खुला वास्तुकला प्रदर्शनीले आम सर्वसाधारणलाई आर्टिटेक्चरका विषयमा बुझाउन मदत पुग्छ’,उनले भनिन्,‘पब्लिकलाई टार्गेट गरेर पोखराको पृथ्वीचोकमा कार्यक्रमको आयोजना गरिएको हो ।’

विद्यार्थी नीतिक भट्टराई
Leave A Reply

Your email address will not be published.