सुचना, समाचार र मनोरन्जन

जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक

पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाव दिइने

भैरहवा /

होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ ।

संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।

प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा-मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रात देखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यविचका रहेका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशक अघि संचालित अभियानले भौरहवाका अतिरिक्त नेपालगंज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुस सम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

भैरहवामा आयोजित कार्यक्रमा सिद्धर्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रुपमा संचालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न आफूहरुको दबाबमुलक आन्दोलन जारी रहेको उनले सुनाए

पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित संचालनका लागि सरकारलाई एकिकृत दबाब दिनुपर्ने सुझाव राखे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको र आफुहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए । विमानस्थल संचालन सम्बन्धि मुद्दामा परिषद्को ऐक्यबद्धता उनले सुनाए ।

पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाई राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको जानकारी पनि उनले दिए । पत्रकार नरेश केसीले पोखरा, लुम्बिनी र चितवनलाई समेटेर गोल्डेन ट्र्याङ्गलको अबधारणा अगाडि बढाउनु पर्ने सुझाव राखे ।

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए । अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान संचालन गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । नाट्टा गण्डकीका अध्यक्ष रचना पन्तले पनि कार्यक्रममा भनाई राखेकी थिइन् ।

पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड १९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउन समेत यो अभियानले बल दिने आयोजक संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.