पोखरा,
दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा राईलाई वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा राईसँगै एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोकका सचिन सुनार परेका थिए ।
उदीयमान खेलाडी राईलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई पोखरा एभेन्जरका अध्यक्ष सुबोध त्रिपाठी, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल, प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठ, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।
पोखराको बिरौटा बस्ने १५ वर्षीया निभा राई नेपाली ब्याडमिन्टन खेल क्षेत्रमा एक उदाउँदो नक्षत्रका रूपमा स्थापित छन् । निभाले १० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको ¥याकेट समात्न थालेकी हुन् । हाल पोखराको कुँडहरस्थित मैत्रीय पाठशालामा कक्षा १० मा अध्ययनरत उनी यस वर्षको माध्यमिक शिक्षा परीक्षा को तयारीसँगै आफ्नो खेल जीवनलाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाइरहेकी छन् ।
निभाको खेल यात्राको सुरुवात रोचक छ । कोरोना महामारीका बेला उनका बुबा नरहरि राईले स्वास्थ्यका लागि टोलमै ब्याडमिन्टन खेल्ने गर्दथे । आफ्ना बुबालाई पछ्याउँदै खेल्न थालेकी निभाको रुचि बिस्तारै व्यावसायिक खेलतर्फ मोडियो । छोरीको खेलप्रतिको लगाव देखेर बुबा नरहरीले निभालाई पोखराकै प्रशिक्षक पुनम गुरुङको मातहतमा तालिम दिलाउन सुरु गरे । प्रशिक्षक गुरुङले प्रशिक्षणको ५–६ दिनमै निभाको असाधारण प्रतिभा पहिचान गरी उनलाई अझ बढि प्रशिक्षण दिनुपर्ने सल्लाह दिएका थिए ।
त्यसपछिको समय निभाका लागि उपलब्धिमुलक रह्यो । प्रशिक्षक पुनम गुरुङसँग प्रशिक्षण लिएको ९÷१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन् । त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन् । हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन् भने अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँच भित्र पर्छिन् ।
राष्ट्रिय स्तरमा मात्र नभई निभाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । उनले यसअघि भुटान र पाकिस्तानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाएकी छिन् । उनी पाकिस्तानमा आयोजना हुने सार्क जुनियर ब्याटमिन्टससिपका लागि नेपालबाट छनोट भएकी थिइन् । तर, इरान र पाकिस्तानबीचको तनाव तथा भारत हुँदै जानुपर्ने मार्गको कठिनाइका कारण यसपटक भने उनी उक्त प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भइन् ।
यसबाहेक उनले २०८२ सालमा चौथो मोहन मोमोरियल ब्याटमिन्टन प्रतियोगिता, पहिलो टोखा नगरपालिका एण्ड डिबिए राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता र ट्यालेन्ट हन्ट च्याप्टर २ यि तीन वटै प्रतियोगितामा समान स्वर्ण र कास्य जितेकी छिन् । उनी गत वर्ष नै सार्क जुनियर ब्याटमिन्टन च्याम्पियनसिपमा नेपालबाट छनोट भएकी भएर नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । २१ औं इन्द्रबहादुर गुरुङ मेमोरियलमा स्वर्ण, चौथो ललितपुर मेयर कपमा रजत, दोस्रो पोखरा मेयर कपमा रजत र कास्य, पहिलो बिलबहादुर अन्तर विद्यालय ब्याटमिन्टमा स्वर्ण र पाचौं मोहन मेमोरियलमा २ रजत जितेकी छिन् । यही उपलब्धिका कारण राइले अन्य २ खेलाडीलाई पछाडि पार्दै वर्ष उदीयमान खेलाडीको अवार्ड हात पारेकी हुन् ।