काठमाडौँ :
यही शुक्रबार (मंसिर २६)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ बुधबार साँझ क्यूएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर हलमा भव्य रूपमा प्रिमियर गरिएको छ। फिल्म प्रदर्शनभन्दा दुई दिनअघि गरिएको प्रिमियरमा सञ्चारकर्मी, कलाकार र चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वको उपस्थिति उल्लेख्य थियो।
प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, सफल निर्देशक दीपाश्री निरौला, कलाकार गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, निर्मल शर्मा, सविन श्रेष्ठ, जयकिशन बस्नेत, अभिनेत्री रेखा थापा, अभिनेता सलिनमान बनियाँ, प्रभात पाल, तथा गायिका देविका बन्दनालगायत उपस्थित थिए।
उपस्थित अधिकांशले फिल्मबारे सकरात्मक प्रतिक्रिया दिएका छन्। अभिनेत्री रेखा थापाले फिल्म उत्कृष्ट बनेको र नयाँ कलाकारको अभिनय लोभलाग्दो रहेको बताइन्। त्यस्तै अध्यक्ष दिनेश डीसीले निर्देशक शोभित बस्नेतको निर्देशन र कलाकारको अभिनय प्रशंसनीय रहेको उल्लेख गर्दै “हरेक नेपालीले हेर्नुपर्ने फिल्म” भनेका छन्।
अभिनेता सलिनमान बनियाँले मुख्य कलाकार सुरज र विनिता कार्कीको काम उच्च स्तरको रहेकाले ‘डेब्यु फिल्मका लागि उत्कृष्ट प्रदर्शन’ भएको टिप्पणी गरे। निर्देशक शोभित बस्नेतले कलाकारहरूप्रति दर्शकको प्रशंसा देख्दा आफू भावुक बनेको बताए। “हल भित्र छिर्दा कसैले नचिनेका कलाकार बाहिर निस्कँदा फोटो खिच्न तानातान भएको देख्दा फिल्म सफल भएको अनुभूति भयो,” उनले प्रतिक्रिया दिए।
कलाकार दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेतीलगायतले पनि फिल्म राम्रो बनेको उल्लेख गर्दै नयाँ कलाकारलाई बधाई तथा शुभकामना दिए। रेजिना उप्रेती केही दृश्यमा भावुक भएको बताउँदै, विदेशमा नेपालीले भोग्ने कठिनाइ फिल्मले प्रभावकारी रूपमा देखाएको बताइन्।
फिल्मले अस्ट्रेलियामा स्थायी आवासीय अनुमति (पीआर) का लागि संघर्षरत नेपाली विद्यार्थीको वास्तविकता, पारिवारिक ऋणको दबाब र सामाजिक परिस्थिति उजागर गर्ने निर्देशक शोभित बस्नेतले बताए। फिल्म नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो।
सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानीलगायतले अभिनय गरेका छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का लगायत छन्।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामा, सम्पादन बन्दे प्रसादले गरेका छन्।फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। ‘पीआर’ मंसिर २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।