सुचना, समाचार र मनोरन्जन

त्रिचन्द्रदेखि कांग्रेसको केन्द्रीय नेतृत्वसम्म : प्रविण लाल दासको उम्मेदवारी

सिरहा :

सिरहाका युवा नेता प्रविण लाल दासले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि आज मनोनयन दर्ता गर्नुभएको छ। उहाँले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।

Chaka Panja

त्रिचन्द्र कलेजको नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका दासले ने.वि. संघको इकाइ उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ। विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलन, संगठन निर्माण र विभिन्न राजनीतिक संघर्षमा सक्रिय रहँदै आउनुभएका दासको राजनीतिक यात्रा लामो संघर्ष र अनुभवले जोडिएको छ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितर्फ अघि बढ्दै गर्दा उहाँले युवा पुस्ताको सहभागिता, नयाँ पुस्ताको आवाज र संगठनलाई थप सुदृढ बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्दै आउनुभएको बताउनुभएको छ। राजनीतिसँगै आध्यात्मिक चेतना र सामाजिक सम्बन्धलाई समेत महत्व दिँदै आउनुभएका दास युवामाझ परिचित हुनुहुन्छ। यसपटकको महाधिवेशनमा ३५ वर्षमुनिका मधेश प्रदेशका युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर दासले आफ्नो राजनीतिक यात्रालाई अर्को चरणमा प्रवेश गराउनुभएको छ।

विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभव, संगठनमा गरेको लामो योगदान र युवासँगको निरन्तर सम्बन्धलाई आधार बनाउँदै उहाँले पार्टीको केन्द्रीय तहमा नयाँ पुस्ताको आवाजलाई स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिनुभएको हो। त्रिचन्द्र कलेजबाट सुरु भएको राजनीतिक यात्रा, विद्यार्थी आन्दोलनका संघर्ष हुँदै आज नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारीसम्म आइपुगेको छ। अबको यात्रामा मधेशका युवा, विद्यार्थी र नयाँ पुस्ताको भावना तथा अपेक्षालाई प्रतिनिधित्व गर्ने उहाँको प्रतिबद्धता रहेको छ। संघर्षबाट सुरु भएको यात्रा, अनुभवबाट खारिएको नेतृत्व र युवाको प्रतिनिधित्व गर्ने संकल्प—प्रविण दास।

Leave A Reply

Your email address will not be published.