सुचना, समाचार र मनोरन्जन

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आयो ‘एक्टरः टेक वन’को ट्रेलर

काठमाडौं :

सार्वजनिक भएको दुई दिनमा नेपाली फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आई पुगेको छ। यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा आइपुगेको हो।

गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ। सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन्।

राजन भुसालद्वारा निर्देशित यस फिल्मको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ। यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले चलचित्रलाई थप आकर्षक बनाएको छ ।
फिल्ममा स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् भने यस फिल्ममा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह(निर्माता अनीश भुसाल रहेका छन् ।

यस फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्।

Leave A Reply

Your email address will not be published.