पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा व्यवसायी प्रदिप राजभण्डारीले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन्। ‘व्यवसायिक ऐक्यबद्धता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा ओर्लिएका उपमहासचिव पदका क्रम संख्या १ का उम्मेदवार राजभण्डारीले संघमा सँगालेको लामो अनुभवलाई थप जिम्मेवारीका साथ व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
न्यूरोडस्थित ‘पोखरा फ्लोरिङ एण्ड फर्निसिङ्ग’का प्रोप्राइटर राजभण्डारी पोखराको व्यावसायिक क्षेत्रमा सुपरिचित नाम हुन्। पोखरा उद्योग वाणिज्य संघमा लगातार तीन कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका उनीसँग संस्थागत सञ्चालन, व्यवसायीका दैनन्दिन समस्या र निजी क्षेत्रले भोगिरहेका नीतिगत चुनौतीबारे गहिरो बुझाइ छ।

संघलाई अझ सक्रिय, व्यवसायीमैत्री र नतिजामुखी बनाउन सदस्य र नेतृत्वबीच बलियो पुलको काम गर्ने उनको अठोट छ। वर्तमान आर्थिक शिथिलताको समयमा साना तथा मझौला व्यवसायीको संरक्षण गर्ने, नीतिगत समस्या समाधानका लागि सरोकारवाला निकायसँग सशक्त पैरवी गर्ने र व्यवसायीहरूबीचको आपसी एकता थप मजबुत बनाउने योजना उनले अघि सारेका छन्।
व्यावसायिक क्षेत्रका साथै सामाजिक सेवामा समेत उत्तिकै सक्रिय राजभण्डारी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष हुन्। सामाजिक संस्थाको सफल नेतृत्व र संघभित्र तीन कार्यकाल काम गर्दा प्राप्त व्यावहारिक ज्ञानले आफूलाई उपमहासचिव जस्तो कार्यकारी जिम्मेवारी सम्हाल्न सक्षम बनाएको उनी बताउँछन्।
“तीन कार्यकालको अनुभवलाई अब उपमहासचिवको भूमिकाबाट व्यवसायीको हकहितमा अझ प्रभावकारी ढंगले बदल्न चाहन्छु। व्यवसायीबीचको ऐक्यबद्धता नै हाम्रो सामूहिक शक्ति हो,” राजभण्डारीले भने। संघलाई व्यवसायीका पिरमर्का सुन्ने मात्र नभई समाधानका लागि अग्रसर हुने भरपर्दो संस्था बनाउने दाबी गर्दै उनले क्रम संख्या १ मा अमूल्य मत दिएर विजयी गराउन सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग अपिल गरेका छन्।