सुचना, समाचार र मनोरन्जन

प्रकाश र परीक्षाको फिल्म ‘सोल्टिनी’ घोषणा,जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथा

काठमाडौं :

फिल्म ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरेका छन्। निर्माण टिमले सोमबार फिल्मको घोषणा सहित परिचयात्मक भिडियोमार्फत सार्वजनिक गरिएको छ। फिल्म प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस फिल्मको औपचारिक घोषणा गरिएको हो ।

घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले फिल्मको भाव व्यक्त गरेको छ। वाचनमा उनले भनेका छन्,‘मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ।’

यसबाट फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ । फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ। अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्,‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो।’

अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्,‘सोल्टी,म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न। तर हामी एक हुन सक्दैनौँ।’

यी संवादले यस फिल्म अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ। फिल्मको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा फिल्मको थिम गीतले भावनात्मक स्पर्श थपेको छ। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ। हाल फिल्मका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ। फिल्म घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ।

Leave A Reply

Your email address will not be published.